सार्वजनिक लेखा समितिमा भिजिट भिसाबाट लाखौँ युवाहरु लुटिएको भन्दै यसबारे छलफल चलाउन सांसद्हरुले माग गरेका छन् ।
आजको समितिको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद अमललाल मोदीले भिजिट भिसाका कारण धेरै नेपाली ठगीको र गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठेकाले यसबारे समितिमा छलफल गर्न माग गर्नुभएको हो । उहाँले गृहमन्त्री लेखकले छानविनका लागि मार्गप्रशस्त गर्दै राजीनामा समेत दिनुपर्ने बताउनु भयो । उहाँले गृहमन्त्री लेखकलाई मार्गप्रशस्त गरेर छानविनका लागि तयार हुन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘भिजिट भिषामा गृहमन्त्रीमाथि प्रश्न उठिरहेको छ । हामीले मार्गप्रशस्त गरेर छानविनका लागि तयार हुन भनिरहेका छौं । भिजिट भिसाका सम्बन्धमा लाखौँ मान्छे गइरहेको र आज कोको भिक्टिम बनिरहेका छन्, त्यो भिक्टिमका बारेमा सार्वजनिक लेखा समितिमा छलफल गर्नुपर्छ ।’
संसद अवरुद्ध भइरहेकाले भिजिट भिसाकाबारे गृहमन्त्रीलाई डाकेर समितिले गहन छलफल गर्नुपर्ने बताउनु भयो । अहिलेको स्थिति हेर्दा गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने उहाँको भनाई छ । —न्युज एजेन्सी नेपाल