शहरी विकास मन्त्रालयमा मात्रै ३२ अर्ब जति चलखेल छ, २ लाखसम्मका आयोजना संघअन्तर्गत छन्ः वर्षमान पुन

.

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकारले दुई लाखसम्मका योजना पनि संघीय सरकारअन्तर्गत राखिएको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव पुनले संघीय सरकारअन्तर्गत २ लाखसम्मका आयोजना राखिएको बताउनुभएको हो । उहाँले सरकारले ३ करोड भन्दा कम बजेटका आयोजनाहरु संघअन्तर्गत नराखिएको दाबी गरिरहेको तर शहरी विकास मन्त्रालयको विनियोजित बजेटमा २ लाखसम्मका आयोजना रहेको पाएको दाबी गर्नुभयो । शहरी विकास मन्त्रालयको विनियोजित बजेट १ खर्ब १८ अर्ब ३४ करोड ४४ लाख रहेको छ । यो कुल बजेटको ६.०३ प्रतिशत हो । मन्त्रालयको आगामी बजेट चालु वर्ष २०८१÷८२  को तुलनामा २७.७५ प्रतिशतले बढेको छ  । अघिल्लो आर्थिक वर्षमा ९२ अर्ब ६३ करोड ५४ लाखको बजेट विनियोजन गरेको थियो । बजेट कहाँ र कसरी बढ्यो भन्नेमै मन्त्री स्वयं अचम्मित रहेको बताउनु भयो । शहरी विकास मन्त्रालय एउटैमा मात्रै पनि ३२ अर्ब चलखेल भएको देखिने बताउनु भयो । उहाँले योजनाहरु आफूखुशी राखेको स्पष्ट देखिएको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यस पटक हिजो शहरी विकास मन्त्रालयको विनियोजित बजेट आयो । गत वर्ष ९२ अर्ब थियो । यस पटक १ खर्ब १८ अर्ब पुगेको छ । २६ अर्ब त यसै पनि बढ्यो । तर उसको शिलिङ झन्डै ७२ अर्ब मात्रै थियो । त्यहाँ मन्त्री नै आफैँ आश्चर्य कहाँ बढ्यो थाहै नपाउने । हिजो मन्त्रालयको विनियोजन आएको छ । मन्त्रालयको विनियोजनमा दुई लाखका योजनाहरु रहेछन् । अनि किन यो ३ करोडको भनेर उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्रीलाई सोध्दा होइन, २५ लाख भन्दा मुनिको त हालेको छैन भन्नुभयो । यि दुई लाखको छ भन्दा उहाँ बोल्न सक्नुभएन । १७ हजारबाट कटाएको छैन । सशर्तमा झन अरु अरुतिर सारेको देखिन्छ । सशर्तको रकम गत वर्षको भन्दा बढेको छ । सशर्त त घटाउने हो खासमा । घटाउँदै गएर समानीकरणमा बढाइदिने हो । तीन करोडको योजना होइन, दुई लाखको योजना राखिएको आइसक्यो । यस पटक अलि मनपर्दी गरेको छ । एउटै शहरी विकास मन्त्रालयकै हेर्दा पनि त्यस्तै ३० देखि ३२ अर्ब चलखेल गरेको देखिन्छ । मसिना सबैखाले आफूखशी राखेको देखिन्छ ।’

बजेटमा १६ औं योजनाको कुनै चर्चा नरहेको बताउनु भयो । उहाँले संविधान जारी भएपछि माहोवादी केन्द्रले विपक्षीमा रहेर पहिलो पटक बजेटको विषयमा आफ्ना धारणा राखेको बताउनु भयो । नीति तथा कार्यक्रममाथि पनि पहिलो पटक आफ्ना धारणा राखेको जिकिर गर्नुभयो । —न्युज एजेन्सी नेपाल