कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले अगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सबैलाई सम्बोधन गर्नेगरी आएको दाबी गर्नुभएको छ ।
मंगलवार काठमाडौंमा आयोजित ‘आर्थिक वर्ष २०८२/८३को बजेटले उपभोक्ता बजार आपुर्ति श्रृंखलामा पार्ने प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले यस्तो दाबी गर्नुभएको हो । विगतका वर्षहरुभन्दा अगामी आर्थिक वर्षको बजेट सकारात्मक ढंगबाट आएको उल्लेख गर्दै कार्यान्वयनका लागि सबैले हातेमालो गर्दै अघि बढ्नुपर्ने उहाँको भनाइ छ । उहाँले बजेटले कृषि क्षेत्रको व्यापक सुधारको खाका कोरेको समेत बताउनु भयो । उहाँले स्थानीयस्तरमा उत्पादित स्वस्थ्य र पोषणयुक्त खाद्यवस्तुको उपभोग गर्न पाउने नागरिकको अधिकार सुनिश्चित गर्नेगरी बजेट आएको जिकि गर्नुभयो । उहाँले दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन तराई र भित्रि मधेसका २२ जिल्लामा चैते धान खेति प्रवद्र्धन कार्यक्रम अघि सारिने समेत बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अगामी आर्थिक वर्षको बजेट सबैलाई सम्बोधन गर्ने किसिमले आएको कारणले विगतको तुलनामा सकारात्मक रुपमा छ । यसलाई कार्यान्वयन गर्नको लागि सबैले हातेमालो गर्दै अगाडि बढ्नुपर्छ । स्थानीयस्तरमा उत्पादित स्वस्थ्य र पोषणयुक्त खाद्यवस्तुको उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्नेगरी बजेट आएको छ । त्यसले सकारात्मक सन्देश दिने र हामीले कार्यान्वयनमा इमानदारिताका साथ लाग्न सक्यौँ भने त्यो सम्भावना छ भन्ने सोच नेपाल सरकारले बनाएको छ । त्यसैगरी दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन तराई र भित्रि मधेसका २२ जिल्लामा चैते धान खेति प्रवद्र्धन कार्यक्रम गरिने कुरा समेत अघि सारिएको छ । हामीले चैते धानलाई प्रवद्र्धन गर्नेगरी कुरा अघि बढाएका छौँ ।’
बजेटको सफल कार्यान्वयनको लागि सबैले एकजुट भएर अघि बढ्न जरुरी रहेको समेत बताउनु भयो । —न्युज एजेन्सी नेपाल