१५ औं राष्ट्रपति रनिङ शिल्डमा वागमती च्याम्पियन

.

वागमती प्रदेश १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ मा टिम च्याम्पियन भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)  को आयोजनामा सम्पन्न प्रतियोगितामा वागमती कुल ३६ स्वर्णसहित टिम च्याम्पियन भएको हो । तीन दिने प्रतियोगितामा सात रजत र ११ काँस्य पदक जित्यो । यस प्रतियोगितामा एथलेटिक्समा सबैभन्दा धेरै २६ स्वर्णका लागि प्रतिष्पर्धा भएको थियो । त्यसमा बागमतीले १२ स्वर्ण जित्दै टिम च्याम्पियन बन्न बलियो साथ दिएको हो ।
गत वर्ष च्याम्पियन सुदूरपश्चिम प्रदेश दोस्रो स्थानमा सीमित भयो । सुदूरपश्चिमले १४ स्वर्ण, २० रजत र १८ कांस्य पदक जित्यो । स्थानीय तहबाट नै छनोट गरी युवा प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले २०६३ सालदेखि हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सात प्रदेशबाट कुल ६ सय ८६ खेलाडीले ६६ स्वर्ण, ६६ रजत र ९८ कांस्य गरी दुई सय ३० पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।
लुम्बिनी प्रदेश तेस्रो भयो ।
यु–१८ वर्षमुनि उमेरसमूहका विद्यार्थीले प्रतिष्पर्धा गर्ने रनिङ शिल्डमा उसु, तेक्वान्दो, कराते, भलिबल, कबड्डी र एथलेटिक्स गरी कुल ६ खेलमा प्रतिस्पर्धा भएको थियो । लुम्बिनीले पाँच स्वर्ण, १३ रजत र १५ कांस्य पदक प्राप्त गर्यो । त्यसपछि गण्डकी चौथो, कर्णाली पाँचौं, मधेश छैटौं र कोशी प्रदेश पुछारमा रह्यो । गण्डकी र कर्णालीले समान चार स्वर्ण पदक प्राप्त गरे । गण्डकीले ११ रजत र १७ कांस्य तथा कर्णालीले ६ रजत र १९ कांस्य पदक जिते । मधेशले भने तीन स्वर्ण, दुई रजत र १० कांस्य जित्यो । कोशी प्रदेश भने स्वर्ण पदकविहीन बन्यो । कोशीले समान सात रजत र आठ कांस्य पदक जित्यो ।
टिम च्याम्पियन टोली तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्य र सदस्यसचिव टंकलाल घिसिङलगायतले पुरस्कृत गरेका थिए ।
अनिशाले तोडिन् १८ वर्ष पुरानो कीर्तिमान
वागमती प्रदेशकी अनिशा थारुले १५ औं केन्द्रिय राष्ट्रपति रनिङ खेलकुदअन्तर्गत एथलेटिक्सको छात्रा ट्रिपलजम्पमा शुक्रवार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अनिशाले ११.२७ मिटर जम्प गर्दै कीर्तिमानी स्वर्ण जितिन् । अनिशाले २०६४ सालमा केशरी चौधरीले बनाएको १०.८० मिटरको कीर्तिमान भंग गरेकी हुन् । लुम्बिनीकी पिन्जु चौधरीले रजत तथा कर्णालीकी सरिता शाही काँस्य पदक जिते ।
यससँंगै तीन दिने प्रतिस्पर्धामा कुल ९ वटा जुनियर राष्ट्रिय कीर्तिमान बने । पहिलो दिन २, दोस्रो दिन चार र अन्तिम दिन तीन कीर्तिमान बनेका हुन् । शुक्रबार छात्रा ट्रिपलजम्पसहित छात्र÷छात्राको ४ गुणा १ सय मिटर रिलेमा गरी तीन कीर्तिमान बने ।
कबड्डीमा वागमतीलाई दुई स्वर्ण 
शुक्रवार नै सम्पन्न फाइनलमा कबड्डीतर्फ छात्र र छात्रा दुवैमा बागमतीले स्वर्ण जित्यो । दुवै फाइनसमा वागमतीले लुम्बिनीलाई हराएको हो । छात्रामा सुदूरपश्चिम र कर्णाली तथा छात्रमा कोशी र मधेश प्रदेशले काँस्य पदक जिते ।
भलिबलमा सुदूर र गण्डकीलाई स्वर्ण 
भलिबलमा भने छात्रमा गण्डकीले स्वर्ण, लुम्बिनीले रजत र सुदूरपश्चिमले कांस्य जित्यो । छात्रामा सुदूरपश्चिमले स्वर्ण, लुम्बिनीले रजत र गण्डकीले काँस्य पदक जितेका छन् । —न्युज एजेन्सी नेपाल