ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कर्मचारीहरूको कार्यशैलीप्रति कडा आलोचना गर्नुभएको छ ।
मङ्गलवार मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आलोचना गर्नुभएको हो । उहाँले गर्दै कर्मचारीको कामप्रति समर्पण नदेखिने प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो । मन्त्री खड्काले समयमै सुधार नगरे हालको ढिलासुस्तीले देशलाई जटिल मोडमा पु¥याउने चेतावनी दिनुभयो । उहाँले व्यक्तिगत जिम्मेवारीबारे आत्म समीक्षा गर्न पनि कर्मचारीहरूलाई सुझाव दिनुभयो । मन्त्री खड्काले विदेश भ्रमण, रिफ्रेसमेन्ट र औपचारिकतामा समय खर्चिए पनि कार्यसम्पादनको सन्दर्भमा खासै प्रगति नदेखिएको गुनासो गर्नुभयो । उहाँले काममा प्रतिवद्धता, परिणाममुखी सोच र स्वाभिमानी जिम्मेवारी निर्वाह गर्न कर्मचारीहरूलाई आग्रह समेत गर्नुभयो ।
उहाँले भन्नुभयो, “तपाईँहरू लामो समयदेखि यहीँ काम गरेको कर्मचारी साथीहरू हुनुहुन्छ । यस्ता बजेट र खर्चहरू तपाईँहरूले पटक पटक हेरिसक्नुभयो । सुधार गर्ने ठाउँमा तपाईँहरू हुनुहुन्छ । तपाईँको जिम्मेवारीप्रति प्रश्न गरिराख्नुपर्ने कत्तिको मजाकको कुरा होला । आफैले आफैँलाई बेलुका यसो सुतेर मेरो मातहतमा के भयो भनेर सम्झिनुभयो भने के भन्नुहुन्छ, आफैँलाई ? यस्तो खालको अवस्थाले देशलाई कहाँ पु¥याउँछ ? आफ्नो काम के हो ? आफ्नो लगाव के हो ? उपलब्धि कसरी हासिल गर्ने भन्ने कुरामा ध्यान नदिने अनि भन्न पनि अप्ठ्यारो क्या । विदेश जाने भनेपछि आज आइहाले पनि भोलिपल्टै भए गइहाल्ने जस्तो छ, रिफ्रेसमेन्टमा हामी हिँडिरहने प्रगति चाहिँ नहुने । एक दुई जनाले मरेर काम गरिराखे पनि प्रगतिको हिसाबले एउटै डाँलोमा पर्ने, म पनि यहीँ डाँलोमा पर्ने भए, सचिवहरू पनि यहीँ डाँलोमा पर्ने, यो काँनिरको ल्यापसेस हो त हो ? के सुधार गर्नुपर्ने भो ? यसरी हामी कहाँ पुग्छौँ त ? यो गम्भीर प्रश्न छ ।”
उहाँले चालु आर्थिक वर्षको ११ महिना वितिसक्दा पनि मन्त्रालय र मातहतका निकायबाट चित्तबुझ्दो काम हुन नसकेको बताउनुभयो । उहाँले प्रतिवद्धता र लक्ष्य अनुरूप कार्यसम्पादन हुन नसक्नु पनि चिन्ताको विषय भएको जिकिर गर्नुभयो । – न्युज एजेन्सी नेपाल