राष्ट्रिय नीतिलाई निर्मम ढंगले समीक्षा गर्ने बेला भइसक्योः प्रा.डा. आर.पी विच्छा

.

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. आर.पी.विच्छाले राष्ट्रिय नीतिलाई निर्मम ढंगले समीक्षा गर्ने बेला भएको बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नीतिको सर्जरी गर्दा कुनै अंग काट्न आवश्यक भएपनि काटेर अघि बढ्नुपर्ने सुझाव दिनुभयो । उहाँले नेपालमा माइग्रेसन (आप्रवासन समस्या) र वैवाहिक सम्बन्धमा दरार आउने समस्या विकराल बनिरहेको बताउनु भयो । आप्रवासन समस्याका कारण आइरहेको वैवाहिक सम्बधको समस्याबारे गम्भीर भएर सरकारले सोच्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले सबै नीतिहरुमा उल्लेख्य सुधार ल्याउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँको अबको पुस्ता धरै अध्यन गरेको र सीपयुक्त हुने भएकाले उनीहरुमा सरकारको अबको लगानी हुनुपर्ने बताउनु भयो । उहाँले हिमाल र पहाडी क्षेत्रका नागरिकलाई केन्द्रमा राखेर सडक लगायतका भौतिक पूर्वाधारहरु निर्माण गरिरहेको भएपनि उपयोग गर्ने जनशक्ति नहुँदा लगानी खेर गइरहेको बताउनु भयो । जनसांख्यिक अवस्थालाई बुझेर योजना नबनाउने हो भने लगानीको कुनै अर्थ नरहेको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो माइग्रेसनको प्रोब्लम र कपल सेप्रेसनको प्रोब्लम छ । त्यसलाई हामीले पोलिसीमा रि थिंक गर्नुपर्छ । जब हामीले पोलिसी बनाउँछौँ । त्यो रि थिंक गर्ने बेला आइसकेको छ । अब हाम्रो पोलिसीलाई निर्मम ढंगले सर्जरी गरौँ । यदी कुनै अंग काट्नुपर्छ भने काटिदिऔँ । अब ढिला गर्न हुँदैन तर यसमा रि अर्गजनाइज, रि एनालाइज गरौँ । र पोलिसी डिपार्चर ल्याऔँ । हाम्रो अनम्यानेज्ट, अनप्लान सर्टअफ अर्गनाइजेशन भएको छ । माइग्रेसनमा इन्टरनल र एक्स्ट्रनल दुवै प्रोब्लम छ भने यहाँ हामी पोलिसी बनाइरहेका छौँ, हिमाल पहाडको लागि । ४ लेनको सडकको योजना छ, पु¥याएको पनि छ । त्यसलाई उपयोग गर्ने जनसंख्या पनि छैन । अब पपुलेसन डायनामिकलाई बुझेर पोलिसी बनाएन भने हाम्रो लगानीको कुनै मतलव छैन । हाम्रो काम गर्ने जनशक्ति जुन छ, त्यो अवसर हो हाम्रो लागि २५,२६ वर्ष हामीले गुमाइसक्यौँ । हामीले पोलिसी डिपार्चर गरेर यो जनशक्तिमा लगानी गर्ने हो ।’

उहाँले युवा जनशक्ति केन्द्रित लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल