काठमाडौं – त्रिकोणात्मक अन्तर्राष्ट्रिय टीट्वान्टी क्रिकेट शृंखलाको उपाधिका लागि सोमबार घरेलु टोली नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच प्रतिस्पर्धा हुने भएको छ । फाइनल खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिने छ । नेपाली टोली अपराजित रहँदै फाइनलमा पुगेको हो । जारी शृंखलामा नेपालले यसअघि नै मलेसिया र पीएनजीलाई दुई÷दुई पटक पराजित गरिसकेको छ । पीएनजी भने नेपालको उत्कृष्ट प्रदर्शनका कारण फाइनलमा पुगेको हो ।
नेपालले शनिबार भएको लिग चरणको अन्तिम खेलमा मलेसियालाई ८५ रनको फराकिलो अन्तरले हराएपछि पीएनजी फाइनलमा पुगेको हो । नेपालले लिग चरणका चारवटै खेलमा जित हासिल ग¥यो । पीएनजी र मलेसियाले भने एक÷एक खेलमात्र जिते । पीएनजी र मलेसियाको समान दुई÷दुई अंक भए पनि नेट रन रेटका आधारमा पीएनजी फाइनलमा पुग्न सफल भएको थियो ।
नेपाल भने लिग चरणको अन्तिम खेल खेल्नुअघि नै फाइनलमा पुगिसकेको थियो । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको ब्याटिङ कमजोर हुने गरेको छ । तर, जारी शृंखलामा भने नेपाली ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।
जारी शृंखलामा लिग चरणको अन्तिम खेलमा मलेसियाविरुद्घ नेपालका दीपेन्द्रसिंह ऐरीले अविजित एक सय १० रन बनाएका थिए । दीपेन्द्रले केवल ५७ बलको सामना गरी ६ छक्का र १० चौका प्रहार गरेका थिए । दीपेन्द्र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट र टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने नेपालको दोस्रो खेलाडी बनेका छन् । यसअघि राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले मात्रै दुवै ढाँचाको क्रिकेटमा शतक बनाएका थिए ।
घाइते कमलको शल्यक्रिया
नेपाली टोलीका तिब्रगतिका बलर कमलसिंह ऐरीको चोटको शल्यक्रिया गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार कमलको सफल शल्यक्रिया भएको जनाएको छ । कलंकीस्थित नेपाल नेसनल अस्पतालमा आइतबार बिहान उनको शल्यक्रिया भएको क्यानले जनाएको छ । कमललाई पूर्णरुपमा ठिक हुन करिब ६ साता लाग्नेछ । त्रिकोणात्मक टीट्वान्टी शृंखलाअन्तर्गत लिग चरणको अन्तिम खेल खेल्नेक्रममा शनिबार उनी घाइते भएका थिए । उक्त खेलमा नेपाली टोलीले मलेसियालाई हराएको थियो ।
मलेसियाविरुद्ध फिल्डिङ गर्ने क्रममा उनले काँधमा चोट लागेको थियो । खेलको १७औं ओभरमा मलेसियाका अइनुल हाफिजले प्रहार गरेको सट रोक्ने क्रममा कमलले काँधमा चोट लागेको हो । त्यसपछि उनलाई तत्काल अस्पताल लगिएको थियो । अस्पतालमा परीक्षण गर्दा उनको बाँया हातको ‘क्लाभिकुलर फ्राक्चर’ भएको पाइएको थियो । मलेसियाविरुद्धको खेल कमलको पहिलो अन्तर्राष्ट्रिय खेल थियो । उक्त खेलमा उनले दुई ओभर बलिङ गर्दै २० रन खर्चिएर दुई विकेट पनि लिएका थिए ।