काठमाडौं – प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने सरकारको निर्णयविरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले निवेदनको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अदालतले वादी–प्रतिवादी दुवै पक्षलाई छलफलमा बोलाएको छ।
वरीयताक्रम अनुसार एआईजी बढुवा किन नभएको भन्ने प्रश्नको जवाफसहित चैत २८ गते छलफलका लागि उपस्थित हुन अदालतले आदेश दिएको हो ।
तीन सिनियर डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले जुनियरलाई बढुवा गरेर सिनियरलाई छुटाएको भन्दै बढुवाको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएका थिए। मन्त्रिपरिषद् बैठकले डीआईजीहरू वसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।