काठमाडौं -नेपाल बार एशोसिएशनका नवनिर्वाचित अध्यक्ष गोपालकृष्ण घिमिरेले अबको बारको नेतृत्वले विकृति, विसंगति बिरुद्ध लडने र भ्रष्टाचारमुक्त न्यायपालिका बनाउन अभियान चलाउने बताउनु भएको छ ।
शुक्रवार बारको मतदानको मत परिणाम आएसँगै नेपाली काँग्रेस निकट घिमिरे बारको अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँसँगै बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहको प्यानल नै विजयी भएको छ । गठबन्धनको प्यानलले एमाले निकट निकटतम प्रतिद्वन्द्वी विष्णुमणि अधिकारीसहितको प्यानललाई पराजित गरेको हो ।
घिमिरेले ४ हजार ४ सय ३३ मत ल्याएर अध्यक्षमा विजयी हुनुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्दी अधिकारीले २४ सय ८२ मत ल्याउनुभएको थियो । जितसँगै नेपाल बार परिशरमा विजयी टोलीलाई खादा, फूलमाला र अभीरले स्वागत गरिएको थियो । स्वागत समारोहमा बोल्दै नवनिर्वाचित अध्यक्ष घिमिरेले कानून व्यवसायलाई मर्यादित र व्यवस्थित पेशा बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।