काठमाडौं- प्रशिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथमा आन्तरिक पर्यटक बढ्न थालेका छन् ।
कोरोनाको जोखिम कम भएसँगै पछिल्लो समय मुक्तिनाथमा दर्शनार्थीहरुको घुइँचो लाग्न थालेको हो । नयाँ वर्ष तथा चैते दशैँको अवसरमा स्वदेशी पर्यटकहरुले मुक्तिनाथ क्षेत्र भरिभराउ भएको छ । हरेक वर्ष चैते दशैँ, बडा दशैँ एवं औँशीको अवसरमा मुक्तिनाथ धाममा दर्शन गर्ने भक्तालुहरुको भीड लाग्ने गर्छ ।
यस वर्ष पनि मुक्तिनाथमा आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या बढीरहेको स्थानीयहरु बताउँछन् । नेपालको मुस्ताङ जिल्लामा पर्ने मुक्तनाथ धाम भारतको बद्रीनाथ र केदारनाथ जत्तिकै महत्वपूर्ण भएपनि ‘नजिकको तीर्थ हेला’ झैँ भइरहको स्थानीयहरु बताउँछन् । अरु सबै क्षेत्रमा गएर धार्मिक कार्यक्रम गरेपनि अन्तिममा मुक्तिनाथ धाममा गएर दर्शन गरेपछि मात्रै मुक्ति मिल्ने विश्वास रहेको छ ।
पितृ उद्धारका लागि भक्तजनहरुले सोह्रश्राद्धमा कागबेनीमा पिण्डदान गरेर मुक्तिनाथ मन्दिरको दर्शन गरे पितृहरुको उद्धार भइ स्वर्गमा वास पाउने शास्त्रोक्त कथन छ । वैदिक सत्य सनातन हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको सङ्गमस्थल मुक्तिनाथलाई भगवान विष्णुको पुण्यभूमि मानिन्छ ।