गभर्नरको कारबाही फिर्ता लिन माग

.

काठमाडौं – वित्तीय क्षेत्रमा कार्यरत कर्मचारी संगठनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि गरिएको कारबाही प्रक्रिया फिर्ता लिन विज्ञप्ति मार्फत माग गरेका छन ।

 

 

नेपाल राष्ट्र बैंक कर्मचारी संघ, सञ्चयकोष कर्मचारी संगठन, राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ, नेपाल बैंक कर्मचारी संघ र कृषि विकास बैंक कर्मचारी संघले विज्ञप्ति जारी गर्दै अर्थतन्त्र संकटपूर्ण घडीमा भएकाले बेला सरकारले गरेको कारबाहीले दीर्घकालिन नकारात्मक असर पर्ने भएकाले तत्काल फिर्ता लिन माग गरिएको हो ।

 

 

‘आम जनसमुदायको विश्वास र सहकार्य जुटाउँदै, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय कानुनको परिपालना गर्नुभन्दा आफ्ना कमजोरी र अक्षमतालाई ढाकछोप गर्ने उद्देश्यका साथ राजनीतिक प्रतिशोध र सीमित स्वार्थका खातिर एउटा स्वायत्त एवं संवेदनशील निकायको जिम्मेवार पदाधिकारीमाथि देशको समग्र वित्तीय प्रणाली र अर्थतन्त्रमाथि दीर्घकालीन नकारात्मक असर पर्ने गरी सुरु गरिएको कारबाही हरतरहले निन्दनीय छ’ विज्ञप्तिमा उल्लेख छ ।

 

 

यस्ता प्रवृत्तिहरु नरोकिने र नसच्चिने हो भने समग्र अर्थतन्त्रको स्वस्थता र वित्तीय प्रणालीको स्थायित्वको लागि ट्रेड युनियन अधिकारको प्रयोग गर्न बाध्य हुने चेतावनी पनि उनीहरूले दिएका छन । यसबाट आउनसक्ने सबै परिणामको जिम्मेवारी सम्बन्धित निकाय तथा पदाधिकारी स्वयंले लिनुपर्ने चेतावनी पनि दिइएको छ ।