राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद नारायदत्त मिश्रले कुलिङ अफ पिरियडमा भएको छेडखानी गर्न बनेको संसदीय छानविन विशेष समितिले तयार पारेको प्रतिवेदनप्रति असन्तुष्टी जनाउनुभएको छ ।
मंगलवार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै उहाँले संघिय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा भएको त्रुटी छानविन गर्न गठित संसदीय छानविन विशेष समितिको प्रतिवेदनले यथार्थ बाहिर ल्याउन नसकेको बताउनु भयो । उहाँले छानविन समिति अलिअलि लजाएको जस्तो, भन्न खोजेको कुरा भन्न लाज मानेको जस्तो देखिएको बताउनु भयो । उहाँले व्यङ्ग्य गर्दे सबै दलको सहमतिमा तयार भएको प्रतिवेदनमा धेरै बोल्न नहुने बताउनु भयो । उहाँले संविधानमा उल्लेख भएको समाजबाद ठूला दर्जाका कर्मचारीहरुलाई कुलिङ अफ पिरियड हटाएर तत्काल अर्को जागिरको व्यवस्था मिलाउनुमा दत्तचित्त भएको आरोप पनि लगाउनु भयो । यस्तै उहाँले राष्ट्रिय सभाबाट वर्षे अधिवेशनमा संघिय निजामती सेवा विधेयक पास हुनेमा आंशका पनि व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो समाजबाद उन्मुख व्याख्या कतै ठुला दर्जाका कर्मचारीहरुलाई कुलिङ अफ पिरियड हटाएर तुरुन्त नै अर्को जागिरको व्यवस्था मिलाउनुमा दत्तचित्त भएको त छैन । हालै गठन भएको संघिय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटी भएको भन्ने सम्बन्धमा गठित संसदीय छानविन विशेष समिति प्रतिवेदन २०८२ पनि अलिअलि लजाएको जस्तो भन्न खोजेको कुरा भन्न लाज मानेर हो की खोल्न नसके जस्तो देखिएको छ । सबै दलको सहमतिमा तयार भएको प्रतिवेदनमा खैर धेरै नबोलौँ । अस्ती एक जना सांसद भन्दै हुनुहुन्थ्यो, अरुले पनि हो मा हो मिलाउँदै थिए, बल्ल राष्ट्रिय सभाको हातमा आयो यसलाई सच्याउने कुरा । सच्याउन त सच्याउला, यही वर्षे अधिवेशनमा विधेयक पेश भइदिए त सच्याउला । यसलाई समितिले अग्राधिकार दिएर काम गरेजस्तो मलाई त लागेको छैन । हामी दुई जना नारायणले त समिति छाडेका छौँ । अब त्यहाँ कृष्णहरु छन्, के गर्छन हेराँै । कुलिङ अफ पिरियड राखेर देशलाई कति अन्तर पर्छ या पर्दैन थाहा छैन । हामीलाई कुलिङ अपल पिरियडमा अल्झाईदिएर कसले कहाँ कस्तो दुनो सोझ्याउन खोज्दैछन् थाहा छैन । संसदले गरेको निर्णय माथीको खेलवाड अक्षम्य विषय हो । आदेश दिनेहरु पर्दा पछाडी भएपनि आदेशको पालना गर्नेसम्म पनि सजायको भागी भईदिएको भए भोली यी घटना दोहोरिने थिएनन् । को म¥यो भन्दा पनि काल पल्क्यो की भन्ने डर छ ।’
उहाँले हालसम्म कुलिङ अफ पिरियड नराखेर पनि काम चलेको र यो व्यवस्था राखे पनि दुधले धोएका मानिसहरु भने नआउने बताउनु भयो । हाम्रो मान्छे भन्ने सोचाई नहटेसम्म राम्रो मान्छेले ठाउँ नपाउने उहाँको भनाई छ । संसदले गरेको निर्णयलाई उल्टोपाल्टो पार्नेलाई कारबाहीको भागीदार नबनाउँदा आगामी दिनमा पनि यस्ता गतिविधि दोहोरिने उहाँले बताउनु भयो । – न्युज एजेन्सी नेपाल
© 2025, made with by Sobiztrend