कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कानून व्यवसायीहरु पेशाकर्मी मात्रै नभइ समाज सुधारका अभियन्ता भएको बताउनुभएको छ ।
काठमाडौंमा मंगलवार कानून व्यवसायी परिषद्को ३२ औं परिषद् स्थापना तथा आत्ममूल्यांकन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सूचना, सञ्चार र प्रविधिको विकाससँगै समाजमा आएका परिवर्तनले जनमानसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनका विषयमा भ्रम तथा यथार्थताका लागि केही अन्योलता सिर्जना भएको बताउनु भयो । उहाँले यथार्थताबारे जानकारी गराउन कानून व्यवसायीहरुले सही भुमिका खेल्न आवश्यक रहेको बताउनु भयो । आफ्नो पेशागत आचरणलाई पालन गर्दै समाज सुधारको रुपमा भुमिका खेल्ने कानून व्यवसायीहरुका लागि नेपाल कानून व्यवसायी परिषद्ले समयानुकुल ज्ञान, सीप र दक्षता अभिवृद्धिका लािग कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘कानून व्यवसायी पेशाकर्मी मात्र नभएर लोकतान्त्रिक व्यवस्थाका लागि पटक पटक भएको आन्दोलनका योद्धा एवं समाज सुधारका अभियन्ता समेत हुन् । सूचना, सञ्चार र प्रविधिको विकाससँगै समाजमा आएका परिवर्तनले जनमानसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनका विषयमा भ्रम तथा यथार्थताका लागि केही अन्योलता सिर्जना भएको पाइन्छ । यथार्थताबारे जानकारी गराउन कानून व्यवसायीहरुले सही भुमिका खेल्न आवश्यक छ । आफ्नो पेशागत आचरणलाई पालन गर्दै समाज सुधारको रुपमा भुमिका खेल्ने कानून व्यवसायीहरुका लागि नेपाल कानून व्यवसायी परिषद्ले समयानुकुल ज्ञान, सीप र दक्षता अभिवृद्धिका लािग कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको छ ।’
मन्त्री चौरसियाले कानूनी शिक्षालाई थप स्तरीय बनाउन जरुरी रहेको बताउनु भयो । –न्युज एजेन्सी नेपाल