कुलिङ अफ पिरियड संसदीय छानविन समितिको प्रतिवेदन पूर्ण रुपमा कार्यान्वयन हुनुपर्छः काँग्रेस सांसद बडू

.

नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले कुलिङ अफ पिरियड संसदीय छानविन समितिको प्रतिवेदनको पूर्ण रुपमा कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ ।

संघीय संसद भवन परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले नैतिक र राजनीतिक जिम्मेवारी लिएर पदबाट राजीनामा दिएको उल्लेख गर्दै उहाँले प्रतिवेदनले किटान गरेका अन्य व्यक्तिहरुमाथि कानूनी कारबाही हुनुपर्ने उहाँको भनाइ छ । कर्मचारीको दुई वर्षे कुलिङ पिरियडको व्यवस्था निष्क्रिय हुनेगरी अर्को दफा थपिएपछि संसदीय छानविन समिति गठन गरिएको थियो । समितिको प्रतिवेदनको आधारमा समिति सभापति खतिवडाले मंगलवार राजीनामा घोषणा गर्नुभएको हो । सांसद बडूले प्रतिवेदनको पूर्ण कार्यान्वयनको प्रतिक्षामा रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘उहाँले आफू नैतिक र राजनीतिक जिम्मेवारीका हिसाबले राजीनामा दिनु प्रशंसनीय कुरा हो । संसदीय छानविन समितिले तोकिएका सबै व्यक्तिहरुमाथि पनि अब सबैले औंलो ठड्याउलान नि । अब त्यो प्रतिवेदनको कार्यान्वयन कसरी हुन्छ भन्ने कुरा त हाम्रो संसद सचिवालयलाई सोध्नुपर्यो । त्यस प्रतिवेदनको कार्यान्वयन हाम्रो संसदको सचिवालयले गर्दै होला । र उसले सरकारलाई पनि दिने होला नि । सभापतिलाई नैतिक जिम्मेवारी ठहर्याएको थियो । अरुलाई कानूनी रुपमा कारबाही भनेर आएको छ । अब प्रतिवेदनको कार्यान्वयनको प्रतिक्षामै छु ।’
सञ्चारकर्मीले समिति सभापतिमा तपाईको सम्भावना कति छ ? भनेर सोधेको प्रश्न भने बडूले नकार्नुभयो । —न्युज एजेन्सी नेपाल