काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठुला राजनीतिक पार्टीहरुले देशलाई असफल राष्ट्रको बाटोमा धकेलिरहेको बताउनुभएको छ ।
बिहीवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले देशका ठुला राजनीतिक पार्टी र ठुला नेताहरुले देशलाई असफल राष्ट्र बनाउन लागेको बताउनुभएको हो । ठुला पार्टीहरु देशलाई असफल राष्ट्र बनाउने काममा एक अर्काको सहयोगी बनिरहेको उहाँले बताउनुभयो ।
उहाँले राप्रपा देशलाई असफल राष्ट्र बन्न नदिन क्रियाशील रहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो – ‘आज राष्ट्रिय प्रजातन्त्र पार्टीले देशमा जे मुद्दा उठाइराखेको छ, त्यो कुनै एउटा पार्टीको मुद्दा मात्रै होइन । एउटा पार्टीको कुरा मात्रै होइन देशको कुरा हो । देशको मुद्दा हो । किनभने देश पूर्ण रुपले एउटा बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत भो ।
देश हरेक दृष्टिकोणले एउटा असफल राष्ट्रको बाटोतर्फ जान लाग्यो । देशलाई असफल राष्ट्र बन्नबाट जोगाउनका लागि खासगरी ठुला राजनीतिक पार्टीहरुले र ठुलो नेता हुँ भन्नेहरुले पहल गर्नुपथ्र्यो, प्रयास गर्नुपथ्र्यो तर देशलाई असफल राष्ट्रको बाटोतर्फ धकेल्नमा तिनै ठुला पार्टी हुँ भन्नेहरु र तिनै ठुला नेता हुँ भन्नेहरु नै संलग्न भएर उनीहरु नै यसको जिम्मेवार मान्छे र जिम्मेवार पार्टीको रुपमा देखा पर्न थाले । उनीहरु यथास्थितिमा रमाउन थाले मात्रै होइन ।
देशलाई असफल राष्ट्र बनाउने काममा उनीहरु एक–अर्काको सहयोगी जस्तो बन्न थाले । हामीले देशलाई असफल बन्न नदिनका लागि आफुलाई अगाडी सार्नुपर्छ भन्ने अठोट गरेर अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी देशलाई असफल राष्ट्र बन्नबाट जोगाउनका लागि जनताको माझमा क्रियाशील छ ।’