नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले जेन—जी आन्दोलनले आर्थिक रुपमा ठूलो क्षति पुगेको बताउनुभएको छ ।
नेपाल आर्थिक पत्रकार संघले मंगलवार आयोजना गरेको अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो विषयक छलफल कार्यक्रममा बोल्दै ढकालले यस्तो बताउनुभएको हो । उहाँले सार्वजनिक र निजी क्षेत्रको ठूलो संरचना क्षति हुँदा अर्थतन्त्रमै ठूलो धक्का पुगेको बताउनु भयो । जेन जी आन्दोलनले लगानीकर्तालाई निरुत्साहित बनाएको बताउनु भयो । यसबारे सरकारसँग कुरा गरेको र सरकारले प्रोत्साहन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । खरानी टकटक्याएर अगाडि बढे पनि फेरि यस्तै विध्वंश नहोला भन्न नसकिने बताउनु भयो । सरकारले लगानीकर्ता र व्यवसायको सुरक्षाको ग्यारेन्टी लिनुपर्ने बताउनु भयो ।
उपाध्यक्ष ढकालले भन्नुभयो–‘जेनजी आन्दोलनले लगानीकर्तालाई निरुत्साहित गर्ने काम गरेको छ, आन्दोलनपछि हामीले सरकारसँग पनि संवाद गरेका छौं । सरकारले प्रोत्साहन गर्ने प्रतिवद्धता गरेको छ । अहिले हामी खरानी टकटक्याएर अगाडि त बढौँला तर फेरि यस्तै विध्वंश नहोला भन्ने के ग्यारेन्टी छ । फेरि यस्तै विध्वंश भयो भने के गर्ने ? सरकारले हामीलाई सुरक्षाको ग्यारेन्टी गर्न सक्नुपर्छ । हामीले संस्थागत सामाजिक उत्तरदायित्व पनि खर्च गरेका हुन्छौं । हामीलाई सरकारले विश्वास दिलाउन सक्नुपर्छ । हामी अहिले लडेको अवस्था छ, हामी अब उठ्नका लागि सरकारले विभिन्न नीतिहरु ल्याउनुपर्छ । अब फेरि उठ्नका लागि विभिन्न नयाँ रणनीति लिएर अगाडि बढ्नुपर्ने आवश्यकता छ । निजी क्षेत्र पनि मर्यादित भएर अगाडि बढ्नुपर्छ ।’
केही समयअघि अर्थतन्त्रको वृद्धिदर पनि राम्रै भएपनि हामीले त्यसलाई निरन्तरता दिन नसकेको ढकालले बताउनु भयो । —न्युज एजेन्सी नेपाल