महान्यायाधिवक्ता सविता भण्डारीले सरकारी निकायहरूमा सूचना उपलब्ध गराउने प्रक्रियामा अझै अस्पष्टता रहेको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय सूचना दिवसको अवसरमा बुधवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । तत्काल उपलब्ध गराउन सकिने सूचनाहरु समेत सात दिनसम्म ढिलाइ गरेर दिने परिपाटी गलत रहेको उहाँको भनाइ छ । उहाँले नागरिकमा र सूचना उपलब्ध गराउने निकायहरुलाई सूचनाको हकसम्बन्धी व्यवस्था स्पष्टसँग बुझाउन नसकिएकै कारण यस्तो समस्या आउने गरेको बताउनु भयो । उहाँले सार्वजनिक निकायहरूमा सूचनाको माग आउँदा कर्मचारीहरू त्रसित हुने अवस्था रहेकोमा त्यस्तो अवस्था नरहेको पनि बताउनु भयो । उहाँले जिउज्यान वा धनसँग सम्बन्धित सूचना बढीमा २४ घण्टाभित्र दिनुपर्ने प्रावधान भएपनि सरकारी निकायहरुले त्यसको उल्लङ्घन गर्ने गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘पछिल्लो समय सूचना आयोगको पत्र आएपछि कार्यालयहरुम हंगामा पनि हुन थालेको थियो । सूचना माग गरेको पत्र आएको छ भनेपछि कर्मचारी पनि तर्सिने वातावरण बनेको थियो । तर अहिले त्यस्तो अवस्था छैन । सूचना दिनुपर्छ भन्ने कुराहरु आए । केहीले सूचना पाइराखेको अवस्था पनि छ । तर अहिले पनि हाम्रो बुझाई फरक छ कि जस्तो लाग्छ । तत्कालै उपलब्ध गराउन सक्ने सूचना तत्कालै उपलब्ध गर्नुपर्छ । तर तत्कालै उपलब्ध गराउन सक्ने सूचना रहेछ भने सात दिनको समय दिएर कति समय लाग्ने हो त्यसको आधारमा दिनुपर्छ । तर हामी कहाँ निवेदन आएपछि पनि सात दिनसम्म राखेर त्यसपछि मात्र दिने परिपाटी छ । त्यो हँदै होइन । जिउज्यान र धनको कुरा छ भने बढीमा २४ घण्टाभित्र दिनुपर्छ भनिएको छ । त्यसैले अलिकति हामी पनि बुझाउन सकेनौं कि जस्तो लाग्छ । सूचनाको हकलाई जसरी बुझाउनुपर्ने हो र जसरी बुझ्नुपर्ने हो त्यो गर्न सकेनौं कि भन्ने ठाउँमा म पुगेको छु ।’
सूचना प्रवाह र पारदर्शितामार्फत नागरिकलाई जिम्मेवार बनाउन सूचनाको हक महत्वपूर्ण हुने बताउँदै उहाँले तत्काल उपलब्ध हुने सूचनामा ढिलाइ नगर्न संवद्ध निकायलाई आग्रह गर्नुभयो । —न्युज एजेन्सी नेपाल