जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले सन् २०२७ सम्ममा सबै नेपालीमा विपद्जन्य पूर्वसूचना पु¥याउने लक्ष्य रहेको बताउनुभएको छ ।
काठमाडौंमा बिहीवार आयोजित एक कार्यक्रममा उहाँले यस्तो जानकारी दिनुभएको हो । विभागले जल तथा मौसमजन्य पूर्वानुमान र पूर्वसूचना दिने कार्यक्रम दैनिक रुपमा गरिरहेको उहाँले बताउनु भयो । विभाग, विश्व मौसम संगठन र कार्डबीच २०२७ सम्म सबै नेपालीमा विपद्जन्य पूर्वसूचना पु¥याउने कार्यको लागि सहकाय भएको उहाँले जानकारी दिनुभयो । सोही सहकार्यअनुसार काम गरिरहेको उहाँको भनाई छ । उहाँले विभागले प्रवाह गर्ने पूर्वसूचना र मौसम पूर्वानुमान,बाढी पूर्वानुमानमा बुझाईमा एकरुपता ल्याउनुपर्ने आवश्यकता देखिएको पनि बताउनु भयो । विभागको प्राविधिक भनाई र जनतामा प्रवाह हुने सूचनामा फरक पर्न जाँदा विभागमाथी प्रश्न उठ्ने गरेको उहाँले गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘विभागले जल तथा मौसमजन्य पूर्वानुमान र पूर्वसूचना दिने हाम्रो दैनिक कार्यक्रम हो । यो हामीले दैनिक रुपमा गरिरहेका छौँ । यही कार्यक्रम अन्तर्गत हामी विश्व मौसम संगठनको पनि सदस्य राष्ट्र भएको हिसावले विपद्जन्य सूचना चाहीँ सबैमा पुग्नुपर्छ । २०२७ सम्मको टार्गेट चाहीँ अर्ली वार्मिङ फर अल भन्ने छ, त्यसमा सघाउ पु¥याउनको लागि विभाग, विश्व मौसम संगठन र कार्डबीच सहमति भएको छ ।’
महानिर्देशक जोशीले अझै एक हप्ता नेपालमा मनसुन रहने बताउनु भयो । – न्युज एजेन्सी नेपाल