जलवायु परिवर्तनबारे जनचेतना अभिवृद्धिका लागि सञ्चारमाध्यमको भुमिका महत्वपूर्णः मजदुर नेताहरु

.

मजदुर नेताहरुले जनचेतना अभिवृद्धिका लागि सञ्चारमाध्यमको भुमिका महत्वपूर्ण रहेको बताएका छन् ।

ट्रेड युनियन महासंघहरुको साझा संस्था संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) ले आयोजना गरेको ‘जलवायु परिवर्तन र न्यायोचित रुपान्तरणः श्रम, रोजगारीका चुनौति एवं अवसरहरु र सञ्चारमाध्यमको भुमिका’ विषयक संवाद कार्यक्रममा मजदुर नेताहरुले यस्तो बताएका हुन् । उनीहरुले जनचेतना अभिवृद्धि गर्नु नै सञ्चारमाध्यमको भुमिका भएको जिकिर गरेर  जलवायु परिवर्तन कसरी हुन्छ र के हो ? जलवायु परिवर्तनका कारण श्रमीकमा परेको समस्याका बारेमा आम जनतामाझ सञ्चारमाध्यमले जनचेतना फैल्याउनु जरुरी रहेको बताए । कार्यक्रममा बोल्दै नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले जनचेतना अभिवृद्धिका लागि सञ्चारमाध्यमको भुमिका महत्वपूर्ण रहेको बताउनु भयो । सञ्चारमाध्यमले सही सूचना दिनुपर्ने उल्लेख गर्दै मधेसको खडेरीले देश नै मर्कामा परेको र यसबाट प्रत्यक्ष रुपमा किसान श्रमीकहरु प्रभावित भएको जिकिर गर्नुभयो । यसको प्रभावका साथै विश्वमा जलवायु परिवर्तनका कारण भइरहेका समस्याहरुको व्याख्या सञ्चारमाध्यमले मात्रै गर्नसक्ने बताउनु भयो ।


उहाँले भन्नुभयो, ‘सञ्चार क्षेत्रको भुमिका भनेको जनचेतना अभिवृद्धि नै हो । जलवायु परिवर्तन भनेको के हो, कसरी हुन्छ, यसबारे सचेतना नागरिकसमक्ष लैजानुपर्ने हुन्छ । यसमा सञ्चारमाध्यमको भुमिका महत्वपूर्ण छ । जनचेतना अभिवृद्धिका लागि सञ्चारमाध्यमको भुमिका महत्वपूर्ण छ । सञ्चारमाध्यमले सही सूचना दिनुपर्छ । मधेसको खडेरीले देश नै मर्कामा परेको छ । सारा जगतमा परेको प्रभावको व्याख्या सञ्चारमाध्यमले नै गर्नसक्छ । हामीले जतिसुकै कराउँदा पनि केही हुँदैन । सञ्चार जगतले एक पटक लेख्नु र मैले हजार जनालाई भन्नुमा आकाश पातालको फरक हुन्छ ।’

कार्यक्रममा बोल्दै ट्रेड युनियन कंग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले रोजगारीको सुरक्षा, कार्यस्थलको सुरक्षा, रोजगारीजन्य स्वास्थ्य र सुरक्षाका साथै अब जलवायु परिवर्तनका असरबाट श्रमीकवर्गमा परेको समस्याका बारेमा ट्रेड युनियनहरुले आवाज उठाउनुपर्ने समय आइसकेको बताउनु भयो । आर्थिक र सामाजिक सुरक्षाका साथै वातावरणीय सुरक्षा पनि हुनु जरुरी रहेको बताउनु भयो । समयअनुसार ट्रेड युनियनको मुद्दा परिवर्तन भइरहेको भन्दै जलवायु न्याय जरुरी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘टे«ड युनियनको पार्टबाट भन्नुपर्दा हामी वास्तवमा रोजगारीको सुरक्षा भन्छौँ । रोजगारीको सुरक्षा शुरुमा हामीले बोल्ने र भन्ने विषय त्यही हो । रोजगारीको सुरक्षा मात्रै होइन, कार्यस्थलको सुरक्षा पनि आवश्यक छ । रोजगारीजन्य स्वास्थ्य र सुरक्षाको कुरा छ । आर्थिक र सामाजिक सुरक्षाको कुरा पनि छ । अहिले वातावरणीय सुरक्षाको कुरा पनि छ । समयअनुसार हाम्रो मुद्दा पनि परिवर्तन भइरहेको छ । हामी रोजगारी व्यक्तिको सुरक्षाको कुरा गर्दछौँ, स्वास्थ्यको, रोजगारीको सुरक्षाबाट अहिले हामी सिंगो व्रह्माण्डको कुरा गरिरहेका छौँ । समय सन्दर्भअनुसार परिवर्तन हुँदै आइरहेको छ । क्लाइमेट जस्टिस स्वच्छ जस्टिसकै पाटो हो । क्लाइमेट जस्टिससँगै न्यायिक रुपान्तरणको कुरा गरिरहेका छौँ । श्रमीकहरु नै यसबाट प्रभावित भएको छ । हामी रोजगारीबाट विस्थापित हुँदैछौँ, नयाँ रोजगारीमा जानुपर्ने स्थिति छ । वातावरणको इस्यु हामीले उठाइरहेका छौँ । यो विषय एजुकेसनको पार्ट पनि बनाउनु पर्छ । पाठ्यपुस्तकको विषय नै हुनुपर्छ ।’


उहाँले जलवायु परिवर्तनबाट श्रमीक वर्गहरु र त्यसमा पनि महिला श्रमीकहरु बढी प्रभावित भएको बताउनु भयो । जलवायु परिवर्तनका कुराहरु र त्यसको प्रभावबारे पाठ्यपुस्तकमै समावेश गरेर जानकारी दिनु जरुरी रहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल