जेन—जी आन्दोलनले दशैँ व्यापारमा पनि कमी आएको छ ।
आईतवार काठमाडौंको मुख्य व्यापारिक क्षेत्र न्युरोडमा व्यवसाय गर्दै आएका व्यापारीहरुले विगतको दशैँको तुलनामा यस वर्षको व्यापारमा धेरै कमी आएको बताएका हुन् । जेन—जी आन्दोलनपछि व्यापारमा समेत प्रतिकुल असर परेको व्यापारी प्रल्हाद चौलागाईंले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘व्यापार पहिलाको तुलनामा धेरै कम हो । अहिले देशको स्थिति पनि त्यस्तै छ । त्यसैले व्यापार गत वर्षको भन्दा खस्किन गएको हो । कोभिड पछि व्यापार कम हुँदै गएको छ । अहिले पछिल्लो घटनाले पनि केही असर गरेको छ । मान्छेहरु अहिले पनि डर, त्रासमा छन् ।’
भन्सार नाका नखुलेका कारण व्यापारका लागि दशैँमा समेत सामान निर्यात गर्न नसकिएको पनि व्यापारीहरुको गुनासो छ । व्यापारी मनोजबाबु श्रेष्ठले सरकारको नीतिका कारण व्यापार व्यवसाय गर्न नै नसकिने अवस्था आएको पीडा सुनाउनु भयो । उहाँले दशैँमा समेत आवश्यक सामान निर्यात गर्न नसक्ने अवस्था आउनु दुःखद् भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘निर्यातका सामनहरु भन्सार विन्दुमा आएर रोकिएको छ । केरुङ नाकामा डिष्टर्व भएको करिव ३ महिना भयो । तातोपानी नाका पनि २ महिनादेखि बन्द छ । यसले गर्दा पर्याप्त मात्रामा सामानहरु आईरहेको अवस्था छैन । उद्योगका लागि आवश्यक कच्चा पदार्थहरु पनि रोकिएको अवस्था छ । अरु तयारी वस्तुहरु पनि नाका नै रोकिएको छ । तीजदेखि नै व्यवसायीहरुले आफ्नो व्यवसाय गर्न पाएका छैनन् । व्यवसाय नै पलायन हुने अवस्थामा पुगेको छ ।’
यता, ग्राहकहरुले पनि सामान महंगोमा खरिद गर्नु परेको गुनासो गरेका छन् । भन्सार नाकाहरु नखुलेका कारण निर्यात गर्न नसक्दा सामानहरु महंगोमा बेच्नुपरेको व्यापारीहरुको स्पष्टिकरण छ । उनीहरुले सरकारको विद्यमान नीतिले आफूहरुको पलायन हुने अवस्थामा पु¥याएको समेत बताएका छन । —न्युज एजेन्सी नेपाल