सरकारले चाडवाडको समयमा पनि आकस्मिक सेवा, आकस्मिक शल्यक्रिया र अन्तरंग विभाग सधैँ सुचारु गर्न निर्देशन दिएको छ ।
नेपालीहरुको महान पर्व विजया दशमीको समयमा पनि आकस्मिक सेवा, आकस्मिक शल्यक्रिया र अन्तरंग विभाग सधैँ सुचारु गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको हो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले वास्थ्य संस्थाहरुमा कुनैपनि अत्यावश्यक सेवा आवश्यक पर्ने, बिरामी भएर अस्पताल भर्ना हुनुपर्ने, सेवालाई असर नपरोस् र निरन्तर रहोस् भन्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्ना स्वास्थ्य संस्थाहरुलाई सधैँ सेवाहरु सुचारु राख्न निर्देशन दिएको बताउनु भयो । अस्पतालमा हुने आपत्कालीन मेडिकल टिम, एम्बुलेन्स सर्भिस र एम्बुलेन्सहरुको नेटवर्किङलाई निरन्तर राखिरहन र स्वास्य मन्त्रालयअन्तर्गत गुनासो सुन्ने हटलाइन पनि सुचारु राखेको जानकारी दिनुभयो । जेन जी आन्दोलनका क्रममा घाइते भएकाहरुलाई अत्यावश्यक पर्नसक्छ भनेर जेन जी क्लिनिक पनि सुचारु गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपालीहरुको महान चाडमा स्वास्थ्य संस्थाहरुमा कुनैपनि अत्यावश्यक सेवा आवश्यक पर्ने, बिरामी भएर अस्पताल भर्ना हुनुपर्ने, सेवालाई असर नपरोस् र निरन्तर रहोस् भन्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्ना स्वास्थ्य संस्थाहरुलाई आकस्मिक सेवा, आकस्मिक शल्यक्रिया र अन्तरंग विभाग सधैँझँै सुचारु गर्न अनुरोध गरेको छ । अस्पतालमा हुने आपत्कालीन मेडिकल टिम, एम्बुलेन्स सर्भिस र हाम्रो एम्बुलेन्सहरुको नेटवर्किङलाई निरन्तर राखिरहन र स्वास्य मन्त्रालयअन्तर्गत गुनासो सुन्ने हटलाइन पनि सुचारु राखेका छौँ । जेन जी आन्दोलनका क्रममा घाइते भएकाहरुलाई अत्यावश्यक पर्नसक्छ भनेर जेन जी क्लिनिक पनि सुचारु गरेका छौँ । आफ्नो चाडवाडमा खानपानमा ध्यान दिनुहोस्, स्वास्थ्य स्वस्थ राख्नुहोस् ।’
प्रवक्ता बुढाथोकीले चाडवाडको बेलामा खानपानमा विशेष ध्यान दिन पनि आग्रह गर्नुभयो । –न्युज एजेन्सी नेपाल