प्राकृतिक प्रकोपका अस्वभाविक घटनाहरुलाई जलवायु परिवर्तनको विज्ञान र राष्ट्रिय सुरक्षासँग जोडेर विश्लेषण गर्नुपर्ने आवाज उठ्न थालेको छ । केही वर्षदेखि नेपालमा मनसुन अवधिको अन्त्यतिर र पोष्ट मनसुनमा ठूलो वर्षा हुँदा बाढी,डुबान र पहिरोबाट जनधनको क्षति व्यहोर्नुपरेको छ । त्यस्ता विपद्का घटना व्यवस्थापनमा परिचालन हुने सुरक्षा संयन्त्रसँग आवश्यक साधन स्रोत र प्रविधिको अभाव भएको विषय हरेक वर्ष उठ्ने गरेका छन् । गत वर्ष पनि त्रिशुलीमा खसेको बस र यात्रु खोज्नका लागि भारतबाट अत्याधुनिक प्रविधि सहितका गोताखोरको टोली मगाउनुपरेको थियो । विगतका वर्षहरुमा मुलुकले व्यहोरेको विपद्लाई सामान्य वातावरणीय समस्याको रुपमा मात्र नभई जलवायु परिवर्तनको विज्ञान र राष्ट्रिय सुरक्षाको रुपमा गम्भीर विश्लेषण आवश्यक रहेको जलवायुविज्ञ डा. मञ्जित ढकाल बताउनुहुन्छ । विश्व तापमानको औसत वृद्धिदर र यसले वातावरणीय सन्तुलनमा पारिरहेको असरलाई जलावयुसम्बन्धी विषयमा मात्र सिमित राखेर बहस गरिनुको अर्थ नरहने उहाँको भनाइ छ । वैज्ञानिक अध्ययनअनुसार गत वर्षको काठमाडौंको बाढीमा जलवायु परिवर्तनको प्रभाव १० प्रतिशत र यस्ता घटनाको पुनरावृति ७० प्रतिशतको दरले बढ्ने छन् । मनसुनको अन्त्यतिर हुने भारी र अति भारी वर्षा पछाडिको कारण पत्ता लगाउन हरेक घटनाहरुको गम्भीर रुपमा विश्लेषण गर्नुपर्ने आवश्यकता रहेको पनि उहाँको भनाइ छ । अध्ययनका अनुसार विगत २५ वर्षमा काठमाडौंको जनसंख्यामा ३ सय प्रतिशतले वृद्धि हुनु र सोही अवधिमा २८ प्रतिशत वन मासिएको देखाएको उल्लेख गर्दै उहाँले यो पनि वर्षा र बाढीजन्य विपद्को मुख्य कारण रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘गत वर्षको असोजमा आएको विपद् जलवायु परिवर्तनको कारण आएको हो कि होइन भनेर अध्ययन र विश्लेषण गरिएको छ । तर मधेसको खडेरी र सुख्खाको कुरा गर्नुभयो त्यसमा आईपिसीसीको भर्खरै प्रकाशित प्रतिवेदनले पृथ्बीको तापमान एक डिग्री मात्रै बढ्दाखेरी प्रत्येक दश वर्षमा एकपटक ठूलो बाढी आउने र प्रत्येक दश वर्षमा सुख्खा खडेरी हुन्थ्यो भने पृथ्बीको तापमान चार डिग्री जति बढ्दाखेरी प्रत्येक दश वर्षमा चारपटक जति बाढी आउने र सुख्खा खडेरी तीन पटक जति हुने भनेर देखाउँछ । अब पृथ्वीको तापमान वर्षैपिच्छे बढ्दाखेरी यस्ता विपद् प्रत्येक वर्ष बढ्ने देखिन्छ । अहिले पृथ्बीको तापमान औसत १.५ डिग्रीले बढिरहेको छ । त्यसकारण वैज्ञानिक प्रतिवेदनले जुन निष्कर्ष निकालेको थियो त्यो लक्षण हामीले देख्न सुरु गरिसक्यौं । त्यसको प्रभाव मधेस प्रदेश र अरुतिर पनि देखिन थालेको छ । अब यो जलवायु परिवर्तनको असर हो कि होइन भन्ने प्रश्नमा गत वर्ष आएको बाढीको अन्तरराष्ट्रिय वैज्ञानिकसँगै मैले पनि अध्ययन गर्ने अवसर पाएको थिए । त्यस अध्ययनले गत बर्षको बाढीमा १० प्रतिशत जलवायु परिर्वतनको कारण देखाएको छ । अध्ययनमा जलवायु परिवर्तनका कारण गत वर्षको जस्तो बाढीको पुनरावृत्ति हुने सम्भावना ७० प्रतिशत बढेको पनि देखिएको छ । गएको २५ वर्षमा काठमाडौंको वन विनास २८ प्रतिशतले भयो । र विगत २५ वर्षमा ३०० प्रतिशतले काठमाडौंको जनसंख्या वृद्धि भएछ । हामीले अपनाएको विकासको मोडलले पनि विपद्बाट हुने क्षतिमा वृद्धि भएको छ । भर्खरै अन्तराष्ट्रिय कोर्ट अफ जस्टिसले विकसित राष्ट्रहरुले विपद्मार्फत हुने क्षतिको क्षतिपुर्ति दिनुपर्ने भनेको छ । तर सँगसँगै त्यो विपद्मा जलवायु परिवर्तनको प्रभाव थियो कि थिएन भनेर अध्ययन हुनुपर्ने पनि भनेको छ ।’

जलवायु परिवर्तनको असर र बाढीजन्य विपद् कसरी बन्दैछ राष्ट्रिय सुरक्षाको मुद्दा ?
विगतमा २ बर्षमा मनसनको अन्त्य र पोष्ट मनसुनमा भएको वर्षाले मुलुकभर अकल्पनीय क्षति पु¥यायो । गत वर्ष मुलुकभर २५० जनाको मुत्यु हुनुका साथै विकास निर्माणका हजारौं भौतिक संरचनामा व्यापक क्षति पु¥यायो । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार यही असोज १७ देखि २० गतेसम्मको वर्षा पछिको बाढी, पहिरो र डुबानमा परि ५३ जनाले ज्यान गुमाएका छन् । नेपालमा बाढी र पहिरोका घटनाले वर्षेनी ठूलो धनजनको क्षति पु¥याइरहेको सन्दर्भमा यस्ता विपद्लाई सामान्य वातावरणीय समस्याको रूपमा नभई राष्ट्रिय सुरक्षाको मुद्दा बनाउनुपर्नेमा उहाँको जोड छ । अगामी वर्षहरुमा पनि यही अनुपातमा बाढी–पहिरोका घटना बढ्ने हो भने यो राष्ट्रिय सुरक्षाको गम्भीर चुनौती बन्ने खतरा औँल्याउनु भयो । एकातिर जलवायु परिवर्तनको असर बढ्दै जानु र अर्कोतिर विपद् प्रतिकार्यको लागि सरकारले प्रभावकारी भुमिका खेल्न नसक्नुले बाढीजन्य विपद् नेपालको लागि राष्ट्रिय सुरक्षाको मुद्दा बनेको उहाँको धारणा छ ।
उहाँले भन्नुभयो, ‘यही अनुपातमा बाढी, पहिरोका घटना हुने र यसरी नै जनधनको क्षति हुने हो भने यो राष्ट्रिय सुरक्षाको ठूलो सवाल बन्नसक्छ । अब यसलाई सामान्य वातावरणीय समस्या र जलवायुसम्बन्धी फोरमको मात्र विषय बनाइनु हुँदैन । यसलाई राष्ट्रिय सुरक्षाको विषय बनाएर छलफल गरिनुपर्छ । नेपालको सन्दर्भमा बाढी पहिरोलाई राष्ट्रिय सुरक्षाको हिसाबले विश्लेषण गर्दाखेरी यसको प्रतिकार्यका लागि सुरक्षा निकायको बार्षिक बजेटमा पनि वृद्धि हुनुपर्छ । विपद्मा सबैभन्दा पहिले रिस्पोन्स गर्नुपर्ने सशस्त्र प्रहरीको बजेटमा र उनीहरुलाई आवश्यक पर्ने सामागी्रमा पनि वृद्धि गर्नुपर्ने आवश्यकता छ ।’
पृथ्वीको औसत तापमान वृद्धिसँगै मनसुन र पोस्टमनसुन अवधिमा छोटो समयमा अत्यधिक वर्षा हुने र प्रि–मनसुनमा वर्षा कम हुने प्रवृत्ति देखिएको उल्लेख गर्दै उहाँले पृथ्वीको तापमान १.५ डिग्री सेल्सियसले बढ्दा हरेक १० वर्षमा ठूला बाढी र खडेरीको आवृत्ति बढ्दै गएको अध्ययनले देखाएको उल्लेख गर्नुभयो ।
विपद्पूर्व, विपद्को समयमा र विपद्पछिको प्रतिकार्यका लागि सरकारले देखाएको सक्रियताका कारण क्षति न्युनिकरण भएको जलवायुविज्ञ ढकाल बताउनु हुन्छ ।
विपद्मा पुगेको क्षतिको तथ्यांक चिन्ताजनक
सन् २०११ देखि राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् र विपद् प्रभावितको तथ्यांक संकलन गर्दै आएको छ । पछिल्लो समय विपद्सम्बन्धी तथ्यांक संकलनकै लागि भनेर प्राधिकरण विपद् पोर्टल पनि सञ्चालनमा ल्याएको छ । प्राकृतिक विपद्बाट पुगेको क्षतिको एकीकृत तथ्यांक चिन्ताजनक छ । तथ्यांकअनुसार सन् २०११ देखि २०२४ सम्म नेपालमा २ हजार ३ सय ८० वटा बाढी र ४ हजार ३ सय ७७ वटा पहिरोका घटना भएका छन् । यी घटनामा ३ हजार १ सय जनाले ज्यान गुमाएका छन् । यो तथ्यांकअनुसार प्रतिवर्ष बाढी र पहिरोमा परेर २ सय २२ जनाको मृत्यु भएको देखाउँछ । सन् २०२४ मा मात्रै २५० जनाले बाढी र पहिरोमा ज्यान गुमाएका छन् । बाढी र पहिरोमा परेर भौतिक संरचनामा समेत अकल्पनीय क्षति पुगेको प्राधिकरणको तथ्यांकले देखाउँछ । हालसम्म बाढीले १२ हजार र पहिरोले ६ हजार संरचनामा क्षति पु¥याएको छ ।
प्राधिकरणको तथ्यांक सुनाउँदै उहाँले भन्नुभयो, ‘विपद् व्यवस्थापन प्राधिकरणको तथ्यांकलाई अध्ययन गर्दा के देखिन्छ भने सन् २०११ देखि सन् २०२४ सम्म २ हजार ३ सय ८० वटा बाढी र ४ हजार ३ सय ७७ वटा पहिरोका घटनाहरु भएका छन् । र यो १४ वर्षको अवधीमा बाढी र पहिरोमा परी ३ हजार १ सय जनाको ज्यान गएको देखिएको छ । त्यो भनेको प्रति वर्ष २ सय २२ जनाको बाढी र पहिरोको कारण मात्रै ज्यान जाने गरेको देखिन्छ । त्यसमा पनि सन् २०२४ को रेकर्ड अझै बढी देखिएको छ । यो वर्ष मात्रै २५० जनाको ज्यान गएको देखिन्छ । बाढी र पहिरोले भौतिक संरचनामा पनि त्यत्तिकै असर पारिरहेको देखिन्छ । बाढीले मात्रै झण्डै १२ हजार भौतिक संरचनाहरुमा क्षति पु¥याएको र र पहिरोले झण्डै ६ हजार संरचनामा क्षति पु¥याएको प्राधिकरणको तथ्यांकले देखाउँछ । ’
जलवायुविज्ञ ढकालले विपद्बाट हुने क्षति न्युनिकरणका लागि पूर्वसूचना प्रणालीको विस्तार र व्यापकतासँगै विपद् व्यवस्थापनमा पहिलो पक्तिमा रहेर कामगर्ने सुरक्षा निकायलाई साधनस्रोत सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभयो । क्षति न्युनिकरणका लागि लगानी गर्न नसक्दा त्यसले दीर्घकालिन रुपमा राष्ट्रिय सुरक्षामा नै प्रश्न उठ्ने र कमजोर हँुदै जाने जोखिम रहेको पनि उहाँले उल्लेख गर्नुभयो । उहाँले विपद्जन्य तथ्यांक संकलन समेत परिस्कृत गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । मुलुकभरको विपद्न्य तथ्यांकलाई अन्तर्राष्ट्रिय समुदायमा पुष्टि गर्न सकिने आधारसहितको बनाउन थप स्रोत र साधनको आवश्यकता रहेको उहाँको भनाइ छ ।

जलवायु र वातावरणमैत्री विकासमा ध्यान दिने कि ?
विकास र वातावरणबीच अन्योश्रित सम्बन्ध छ । मानवीय कतिपय क्रियाकलापले आफ्नो खुट्टामा आफैं बन्चरो हान्ने कार्य भइरहेको जलवायु विज्ञ ढकाल बताउनु हुन्छ । विकासजन्य मानवीय क्रियाकलापले वातावरणलाई चुनौती दिँदै गएको उल्लेख गर्दै उहाँले वातावरणमैत्री विकास अवलम्वन गर्नुपर्ने धारणा राख्नुभयो । नेपालमा भइरहेको विपद्जन्य क्षति जलवायु परिवर्तनको कारण भइरहेपनि तथ्यले त्यसलाई पुष्टि गर्नसक्ने आधार नेपालसँग नरहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘रोशी खोलाको घट्ना होस् अथवा केही समय अघि मेलम्चीमा घटेका घटनाहरु हेर्दा खेरी त्यो समयमा ठूलो वर्षा त भएको थियो । तर त्यसभन्दा पहिले आएको विनासकारी भूकम्पले जमिनलाई शिथिल बनाएको अवस्था, नदि कटान गरेर बालुवाहरु उत्खनन् भएका कुराहरुले त्यो घटनामा ठूलो असर गरेको अवस्था छ । यसले के देखाउँछ भने जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय कोषहरुमा जलवायुजन्य प्रकोपको कारण हो भनेर प्रष्ट्याउन हामीलाई गाह्रो भइरहेको र अन्तरराष्ट्रिय समूदायले पनि तिमीहरुको आफ्नो पनि समस्या छ नि भन्ने गरेको सुनिन्छ । अब हामीले हाम्रो विकासको मोडललाई पनि कसरी जलवायुमैत्री बनाएर लैजान सकिन्छ भनेर सोच्नुपर्ने आवश्यकता छ । कोषबाट क्षतिपुर्तिको रकम आउला र हामी जलवायु कार्य गरौंला भनेर पर्खिने होइन कि हामीले जलवायुमैत्री विकास मोडलमा काम गर्न जरुरी छ । जसले गर्दा भोलिको दिनमा जलवायुको असर कम होस् । त्यस्तै हामीले अध्ययन र तथ्यांक संकलनमा पनि त्यही हिसावको लगानी गर्दै जानुप¥यो ।’
दक्षिण एशिया जलवायु परिवर्तनको सबैभन्दा ठूलो ‘हटस्पट’
वैज्ञानिक प्रतिवेदनहरूले दक्षिण एशियालाई जलवायु परिवर्तनको सबैभन्दा ठूलो ‘हटस्पट’को रूपमा चित्रण गरेको छ । बाढी र पहिरोका घटनाहरू निरन्तर बढिरहेका क्षेत्रमा नै तापमान वृद्धिको असर सबैभन्दा धेरै रहेको अध्ययनले देखाएको छ । यसले नेपाल जस्ता देशहरूलाई गम्भीर चुनौती थपेको उहाँको भनाइ छ । उहाँले क्षति न्युनिकरणका लागि विपद् पूर्वतयारीलाई सुदृढ गर्न र जल तथा मौसम विज्ञान विभागलाई स्रोत, साधन र जनशक्तिले सम्पन्न बनाउन तत्काल कदम चाल्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘वैज्ञानिक प्रतिवेदनहरुले जलवायु परिवर्तनको सबैभन्दा ठूलो हटस्पट दक्षिण एसिया रहेको देखाउँछ । जहाँ चाहीँ बाढी र पहिरोका घटनाहरुमा निरन्तर वृद्धि भइराख्छन् र तापमान वृद्धि हुँदा सबैभन्दा धेरै यो क्षेत्रमा असर गर्छ भनेर भनिसकेको अवस्था छ । विगत हामीले गरेको अध्ययनबाट पनि नेपालको बाढीजन्य विपद्मा जलवायु परिवर्तनको असर छ भन्न मिल्यो । हामीले अन्तर्राष्ट्रिय फोरमहरुमा कार्बन उत्सर्जन गर्ने मुलुकहरुमाथि दबाब सिर्जना गर्न सक्नुपर्छ । जुन भइरहेको पनि छ । त्यतिले मात्र पुग्दैन । हामीले विपद् पूर्वतयारीलाई पनि मजबुत बनाउनुपर्छ । हामीले विपद् र जलवायुजन्य विपद्को पूर्वतयारीको अभ्यासलाई सँगै लिएर जान सकियो भने केही हदसम्म सफलता प्राप्त गर्न सकिन्छ । जल तथा मौसम विज्ञान विभागलाई हामीले स्रोत, साधन र दक्ष जनशक्तिले प्रभावकारी बनाउनुपर्छ ।’
जलवायु परिवर्तनले हिमालय लगायत मानव जीवन, सामाजिक, आर्थिक विकास, जैविक विविधता, पर्यटकीय विकास आदि क्षेत्रमा विश्व व्यापि असर गरेको छ । यसले अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो, हिमपहिरो, सुख्खाजस्ता प्राकृतिक विपद्को जोखिम बढाएको छ । हिमालय क्षेत्र नजीकका भू–भागमा मात्र नभई यसको प्रभाव दक्षिण एसिया र सम्पूर्ण विश्वको वातावरणीय सन्तुलनमा समेत परेको छ । —न्युज एजेन्सी नेपाल