वैकल्पिक शक्तिहरुले नेतृत्वकेन्द्रित नभई सिद्धान्त र दृष्टिकोणमा एकता खोज्न आवश्यकः नेताहरु

.

वैकल्पिक राजनीतिक दलका नेताहरुले राजनीतिको मुख्यधारमा देखिएको नेतृत्वकेन्द्रित सोचको आलोचना गर्दै वैकल्पिक शक्तिहरूबीच सिद्धान्त र विचारका आधारमा सहकार्य हुनुपर्ने धारणा राखेका छन् ।
आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनीहरुले यस्तो धारणा राखेको हुन् । वैकल्पिक भनिएका दलहरु नै पार्टीलाई नेताको रुपमा चित्रण गर्न नहुने उनीहरुको भनाइ छ । कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले रास्वपालाई केवल एउटा नेताको पार्टीको रूपमा चित्रण गर्ने प्रवृत्ति गलत भएको टिप्पणी गर्नुभयो । उहाँले पार्टी ऐतिहासिक उपलब्धि र मान्यताहरुलाई स्वीकार गरेर अघि बढिरहेको उल्लेख गर्दै व्यक्तिलाई नभई पार्टीको सिद्धान्त, विचार दृष्टिकोणको आधारमा पार्टीमा समाहित हुन वैकल्पिक शक्तिहरुलाई आह्वान समेत गर्नुभयो । उहाँले रास्वपाको नीति र दस्तावेजले समानुपातिक प्रतिनिधित्व र प्रमुख कार्यकारी प्रमुखको अवधारणालाई समेटेको बताउँदै त्यसको कार्यान्वयन लोकतान्त्रिक प्रक्रियामार्फत हुने बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी भनेको रवि लामिछाने मात्र होइन भन्ने बुझ्न जरुरी रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीलाई खालि एउटा नेताको रुपमा मात्र हेरिन्छ । तर ऐतिहासिक र विभेदका सबै कुराहरु त हामीले स्वीकार गरेका छौं नि । सामाजिक न्यायका विषय समेत हामीले स्वीकारेका छौं । नेतृत्वको प्रधानता यदि हाबी भएको छ कि रास्वपा भनेको रवि मात्र हो भनिन्छ । हाम्रा दस्तावेजहरु कसैले पढ्दैनन् । अनि रवि हुञ्जेल हामी आउँदैनौं भन्ने उहाँहरुको तर्क छ । तर पार्टीमा आउने भनेको सिद्धान्त, विचार र दृष्टिकोण हो नि । प्रमुख कार्यकारी प्रमुख र पूर्ण समानुपातिक सांसदको कुरा त हाम्रो दस्तावेजले बोलेको छ नि । तर त्यो प्राप्तिको प्रक्रिया त लोकतान्त्रिक प्रक्रिया नै होला नि । त्यसको लागि त फेरी सबै जना एक ठाउँमा आउनुपर्ने होला नि ।’

कार्यक्रममा बोल्दै विवेकशील साझा पार्टीकी महासचिव रञ्जु दर्शनाले वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको आवश्यकता लामो समयदेखि उठ्दै आएको भएपनि व्यक्तिकेन्दित राजनीतिको कारण निष्कर्षमा पुग्न नसकेको बताउनु भयो । उहाँले वैकल्पिक शक्तिहरुबीच सहकार्य किन हुन सकेन भन्ने विषयमा आत्ममूल्याङ्का गर्न जरुरी रहेको बताउनु भयो । उहाँले विवेकशील साझाले जेन–जी आन्दोलन अघि नै राजनीतिक संवाद समिति गठन गरेर वैकल्पिक शक्तिहरुबीच संवाद र सहकार्यको अभ्यास सुरु गरेको पनि बताउनुभयो । वैकल्पिपक राजनीति केवल चुनावी तालमेलमा सीमित नभई साझा विचार, नीतिगत दृष्टि र प्रणालीगत सुधारमा केन्द्रित हुनुपर्नेमा उहाँको जोड छ ।
उहाँले भन्नुभयो, ‘वैकल्पिक राजनीति गर्नेहरु एक ठाउँमा आउनुपर्छ भनेको लामो समय भइसक्यो । तर कि वैकल्पिक भनिएका हामीहरु किन एक ठाउँमा आउन सकिएको छैन त ? हामीले २०८४ सालमा मिल्नुपर्छ भनेर केही अभ्यासहरु शुरु गरेका पनि थियौं । विवेकशील साझाको तर्फबाट हामीले समेत जेन–जी आन्दोलन हुनुभन्दा अगाडि नै राजनीतिक संवाद समिति गठन गरेर त्यो प्रक्रियालाई अगाडि बढाउने प्रयास गरिरहेकै थियौं । तर ८२ मै निर्वाचन हुने भयो । फेरि यो चुनावी रणनीति चाहीँ अलिकति फरक हुँदो रहेछ ।  चुनावकै लागि मिल्ने र धेरै सिट आर्जन गर्ने चुनावपछि फेरि फुट्ने हो त ? त्यसकारण अवको वैकल्पिक दलहरुले चुनावको लागि मात्रै एक ठाउँमा आउने काम गर्नुहुँदैन । राजनीतिक दल भनेको सत्ता र जनताबीचको सेतु पनि भएको कारण त्यही अनुसारको मिलन आजको आवश्यकता हो ।’

कार्यक्रममा उपस्थित अन्य नेताहरुले समेत विचार र सिद्धान्तमा आधारित सहकार्य गरेर मुलुकलाई निकास दिन जरुरी रहेको धारणा राखेका छन् । –न्युज एजेन्सी नेपाल