मुक्त कमैया, हलिया, कमलरी र हरुवाचरुवाको समस्या समाधान गर्छाैं: मन्त्री श्रेष्ठ

.

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मुक्त कमैया, हलिया, कमलरी र हरुवाचरुवाको समस्यालाई सही ढंगबाट सम्बोधन गर्न सरकार लागि परेको बताउनुभएको छ ।

 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मुक्त कमैया, हलिया, कमलरी, हरुवाचरुवाहरुको समस्या समाधान गर्न गठित अध्ययन समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले मुक्त कमैया, हलिया, कमलरी, हरुवाचरुवाको समस्यालाई सही ढंगबाट सम्बोधन गरी संविधानमा लिपिवद्ध भएका र मौलिक हकको रुपमा रहेका अधिकारलाई नैसर्गिक मानव अधिकारको हिसावबाट व्यवस्थित गर्ने र कार्यान्वयन गर्ने कुरामा मन्त्रालय प्रतिवद्ध रहेको पनि बताउनु भयो ।

 

मन्त्री श्रेष्ठले मुक्त कमैया, कमलरीहरुको समस्या समाधानका लागि सम्भव भएसम्म यही वर्षको बजेटबाट सम्बोधन गर्ने प्रतिवद्धता पनि जनाउनु भयो । उहाँले सरकार वास्तविक भूमिहीनहरुलाई जग्गाधनी पूर्जा वितरण गर्ने कार्यमा केन्द्रित भएर लागेको पनि बताउनु भयो । मन्त्री श्रेष्ठले मन्त्रालय भूमिहीन सुकुम्बासीहरुमा केन्द्रित रहेकोले वास्तविक भूमिहीनहरुको पहिचान गरी उनीहरुलाई जमीन उपलब्ध गराउने उनीहरुलाई वासस्थानको व्यवस्था गर्ने भन्ने कुरामा जोड दिइरहेको बताउनु भयो । उहाँले सरकारले वास्तविक भूमिहीनको पहिचान गरेर जग्गाधनी प्रमाणपत्र वितरण गर्नको लागि राष्ट्रिय भूमि आयोग गठन गरेको बताउनु भयो ।

News Agency Nepal