सर्वदलीय बैठक अनिश्चित

.

काठमाडौं – सर्वदलीय बैठक अनिश्चित बनेकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवाको आव्हानमा आज बिहान ९ बजे बस्ने भनिएको सर्वदलीय बैठक हालसम्म बस्न नसकेपछि अनिश्चित भएको हो ।

शुक्रबार सत्तारूढ उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको थियो । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित संसदमा प्रतिनिधित्व गर्ने दललाई बोलाएको बताइएको थियो ।

तर, शनिबार बिहानै एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालद्वारा जारी सूचनामा ‘प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको भनिएको सर्वदलीय बैठकका बारेमा हाम्रो पार्टी नेकपा (एमाले) लाई कुनै जानकारी प्राप्त नभएको स्पष्ट पार्दछौं’ उल्लेख छ । याे सूचना एमालेकाे आधिकारिक फेसबुक पेजमा राखिएकाे छ ।

एमालेले स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभन्दा पर धकेल्ने कुनै पनि कार्यमा एमालेको किमार्थ सहमति नहुने धारणा स्पष्ट नै रहेकाे बताएकाे छ ।