क्षमायाचना नगरी एमालेलाई मत माग्ने अधिकार छैनः गगन थापा

.

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेले सरकार चलाउन नसकेकोमा माफी माग्नुपर्ने बताएका छन्। शुक्रबार प्रजातान्त्रिक विचार समाजले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले पाँच वर्ष सरकार चलाउन नसकेको क्षमायाचना नगरी नेकपा एमालेलाई मत माग्ने आधार नभएको बताएका हुन्।

 

 

जनताले पाँच वर्षका लागि सत्ता सञ्चालन गर्न दिएको तर, पार्टीको आन्तरिक कारणले गर्दा संसद विघटन गरेको भन्दै एमालेले माफी माग्नुपर्ने थापाको भनाई छ। थापाले भने, ‘पाँच वर्ष सरकार चलाउन सकिन भनी क्षमायाचना नगरी एमालेलाई मत माग्ने अधिकार पनि छैन।’

 

 

जनमत पाएको पार्टीले सरकार चलाउन नसकेकै कारण कांग्रेसको नेतृत्वमा सरकार बन्नु बाध्यात्मक अवस्था भएको उनले बताए। एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई परमादेशको सरकार भनी आलोचना गरिरहँदा यो अवस्था कसले ल्याएको भनेर उनले प्रश्न गरे।

 

 

तत्कालीन नेकपाका लागि सर्वाधिक अनुकूल समय हुँदा समेत आफ्नै कारणले संसद विघटन गरिएको उनले बताए। संसद विघटन विशुद्ध पार्टी भित्रको कारण भएको थापाको भनाई छ।