निवर्तमान नगर प्रमुख पर्शुराम नेपालले दिए महालक्ष्मी नगरवासीलाई धन्यवाद

.

धनकुटा – महालक्ष्मी नगरपालिका धनकुटाका निवर्तमान नगर प्रमुख पर्शुराम नेपालले नगरवासीलाई धन्यवाद दिएका छन् । विज्ञप्ती मार्फत अघिल्लो कार्यकालमा नगर प्रमुख जस्तो पदमा आम नगरवासीले जिताएर दिएको साथ, सहयोग, हौसला र उर्जाका लागि धन्यवाद दिएका हुन् ।

 

आजभन्दा करिब पाँच वर्षअघि पाएको जनमत र शुभेक्क्षाले आफुले नगरपालिकाको प्रमुख भएर नागरिकको सेवा गर्ने अवसर प्राप्त गरेको भन्दै नेपालले खुशी समेत व्यक्त गरेका छन् ।

 

स्थानीयहरुको घरदैलोमा हरेक पटक आउँदा नगरपालिकालाई कुनै न कुनै सुझाव र अपेक्षा हुने गरेको भन्दै पूर्व नगर प्रमुख नेपालले निर्वाचनका दौरान आफ्नो टिमले गरेका प्रतिवद्धतालाई पूरा गर्न निरन्तर खबरदारी गरेको भन्दै धन्यवाद ज्ञापन गरेका छन् ।

 

निवर्तमान नगर प्रमुख नेपालले दिएको धन्यवाद विज्ञप्तीको पूर्ण विवरण :

 

आदरणीय महालक्ष्मी नगरबासी आमाबुबा दाजुभाई तथा दिदीबहिनीहरु,
आजभन्दा करिब पाँच वर्षअघि यहाँहरुको जनमत र शुभेक्क्षाले मैले यस नगरपालिकाको नगर प्रमुख जस्तो गरिमामय पद हासिल गर्ने अवसर प्राप्त गरे । यहाँहरुको घरदैलोमा हरेक पटक आउँदा नगरपालिकालाई यहाँहरुको कुनै न कुनै सुझाव र अपेक्षा हुन्थ्यो ।

 

निर्वाचनका दौरान हाम्रो टिमले गरेका प्रतिवद्धतामा यहाँहरुको निरन्तर खबरदारी रहन्थ्यो । हरेकपटक यहाँहरुको घरबाट फर्कदा मलाई नयाँ उर्जा प्राप्त हुन्थ्यो । हाम्रो नगरपालिकाका निर्वाचित जनप्रतिनिधि साथीहरुको सल्लाहमा मैले यहाँहरूका सुझान र अपेक्षालाई व्यवहारमा परिणत गर्न हरदम प्रयास गरेको छु । स्रोत जुटाउन दिनरात खटिएको छु तसर्थ यस नगरमा जे जति काम भएका छन् त्यसको प्रमुख हकदार यस नगरपालिकाका सम्पूर्ण नगरवासी महानुभावहरु हुनुहुन्छ । इतिहासले म र मेरो टिमलाई एउटा सुकर्म गर्ने अवसर दियो आज गाउँका चौतारीमा बा आमा सुस्ताउने फलैचा बनेका छन् । बढ्दै गरेको बालकलाई भुलाउने पार्क बनेका छन् ।

 

हाम्रो नगरपालिकाको जुनसुकै ठाउँको नागरिक जोडिएको अर्को पालिकाको जुनसुकै ठाउँमा पनि सहजरुपमा आवतजावत गर्न सक्ने पूर्वाधार निर्माण भएका छन् । विद्यालयका बालबालिकाले अप्ठ्यारो पर्दा नगरपालिकाका जनप्रतिनिधि सम्झिन्छन्, गाउँघरका बिरामी तथा ज्येष्ठ नागरिकले औषधि छुटेको बेला नगरपालिका सम्झिनुहुन्छ । यो म यहाँहरूले दिनुभएको एउटा ठूलो जिम्मेवारी पूरा गर्ने क्रममा भएका हाम्रो कर्म ठानेको छु । मैले र मेरो टिमले यो विश्वास कायम गर्न सक्दा जिल्लाकै सबैभन्दा कान्छो र स्रोत साधनको हिसाबले पछि परेको हाम्रो नगरपालिकामा हाम्रा अपेक्षाकृत कामहरु हुन सकेका छैनन् । मद्यपी हरेक क्षेत्रमा एउटा आधार तयार भएको छ ।

 

पाँचवर्षको हाम्रो कार्यकालको सीमा करिब साढ़े चार वर्ष मात्रै रह्यो । दुई वर्ष हामी कोमिद महामारीसँग जुघ्न बाध्य भयो विकासका अन्य योजनालाई थाँती राखेर कोभिडबाट हाम्रा पालिकाका जनतालाई जोगाउन अहोरात्र खटियो, घरघर पुग्यौ, हामीलाई भर्खर जन्मिन लागेको शिशु र अकालमै ज्यान गुमाएको एउटा युवक दुवैको परिवारको संरक्षण गर्ने दायित्व थियो । गरिबीले थला परेर उपचार गर्न नसक्ने विपन्न परिवारलाई कोही नहुँदा मेरो सरकार मसँगै छ भन्ने अनुभूति दिलाउनु थियो । संसारलाई नै चुनौती दिइरहेको कोभिडलाई हामी सबै मिलेर परास्त गर्न सफल भयौं । हामीले तय गरेका पूर्वाधार विकासका योजनाको स्रोतलाई हाम्रा जनताको रक्षाका लागि उपयोग गर्यौैं । स्थानीय तहको निर्वाचन सम्पन्न भई हाम्रो नगरपालिकाले भर्खरै नयाँ नेतृत्व पाएको छ ।

 

निर्वाचित सबैलाई म हार्दिक बधाई ज्ञापन गर्दछु नगरप्रमुखकोरुपमा मैले प्रतिनिधित्व गर्ने दल भन्दा फरक दलको प्रतिनिधि हुनुहुन्छ । यद्यपी उहाँ मेरो टिमको एक सदस्य हुनुहुन्थ्यो । यस्तै उपप्रमुख मैले प्रतिनिधित्व गर्ने दलबाट पुनः निर्वाचित हुनुभएको छ । हामी सँगै मिलेर काम गर्दा सिकेका अनुभव पनि यहाँहरुले उपयोग गर्नुहुनेछ । महालक्ष्मीको समृद्धि र विकासका लागि मेरो अनुभवको आवश्यकता कतै परे म जुनसुकै बेला पनि यहाँहरुसँग हातेमालो गर्न तयार छु । करिब पाँच वर्षको कार्यकालमा नगरप्रमुखको भूमिका निर्वाह गरिरहँदा मसँग केहि विशिष्ठ जिम्मेवारीहरु थिए यो जिम्मेवारी पूरा गर्ने कममा मैले कहिल्यै कसले कता भोट हाल्यो सोधिन, को मान्छे कुन भेगको हो वास्ता गरिन । कुन मान्छे कुन पार्टीको हो भनेर कार्यालयमा विभेद गरिन ।

 

हामी जुनसुकै पार्टीबाट निर्वाचित भएपनि निर्वाचित भइसकेपछि जनताका सेवक हो । पार्टीको कार्यकर्ता भन्दा माथि हामीसँग मानवीय संवेदना छ । यो संवेदनामा दलगत स्वार्थ हावि हुनुहुँदैन । यस नगरपालिकाको नेतृत्व सम्हाल्न तत्पर नवनिर्वाचित जनप्रतिनिधिलाई मेरो यही सन्देश छ । अन्तमा , निर्वाचनका दौरान हाम्रो पार्टी नेकपा एमालेलाई जिताउन अहोरात्र खट्नुहुने सहयोद्धा कमरेडहरु, हामीले नगरप्रमुखमा हाम्रो दलको उम्मेदवारलाई जिताउन सकेनौ । कतिपय ठाउँमा हामीले अपेक्षा गरे विपरितको नतिजा आएको छ । यो विषम परिस्थितिमा चारैतिरबाट बादल मडारिएर केहि समय घामलाई छेकेको हो । बादलले अन्धकार भने छर्न सक्दैन ।

 

अन्धकार छर्न घाम अस्ताउनुपर्छ । हामी अस्ताएका हैनो बादलको घेराबन्दीमा परेका मात्र हौं । प्रतीक्षा गरौ एकदिन महालक्ष्मीको डाँडामा घाम उदाउने छ र उज्यालो हुनेछ । निर्वाचन सम्पन्न गर्न खट्नु हुने सबै कर्मचारी साथीहरु , सुरक्षाकर्मी , पत्रकार मित्रहरुलगायत महालक्ष्मी नगरपालिकाका मतदाता र शुभेच्छुक सबैलाई हार्दिक आभार प्रकट गर्दछु । मेरो कार्यकालमा म र मेरो टिमबाट कुनै गल्ती कमजोरी भए एउटा मानवीय कमजोरीको उपज सम्झेर हामीलाई माफी दिनुहुनेछ भन्ने अपेक्षा गरेको छु । धन्यवाद

पर्शुराम नेपाल

निः वर्तमान नगर प्रमुखमहालक्ष्मी नगरपालिका, धनकुटा