काठमाडौं- नबिल बैंक र काठमाडौं महानगरपालिकाबीच महानगरपालिका भित्र रहेका बैंकका शाखाका शौचालयहरुलाई निःशुल्क सार्वजनिक शौचालयको रुपमा उपलब्ध गराउने सम्झौता भएको छ ।
बुधवार काठमाडौं महानगरपालिका र नबिल बैंकबीच यस्तो सम्झौता भएको हो । उक्त सम्झौतामा महानगरको तर्फबाट महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल र नविल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल शाहले सम्झौतामा हस्ताक्षर गर्नुभयो । सम्झौतामा काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेको नविल बैंकका १८ शाखाहरुका शौचालयहरुलाई निःशुल्क रुपमा प्रयोग गर्न दिने भएको छ ।
सम्झौता पश्चात् नविल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले बैंकका शाखालाई सार्वजनिक शौचालयहरुलाई निःशुल्क प्रयोग गर्नदिने सम्झौता अन्त्य नभएर शुरुवात भएको बताउनु भयो । उहाँले महानगरका नवनिर्वाचित मेयरको काठमाडौंलाई व्यवस्थित गर्ने नीतिअनुरुप बैंकले पनि ऐक्यवद्घता जनाएको स्पष्ट पार्नुभयो । काठमाडौं एक जना मेयरको मात्रै शहर नभएर सबै नगरवासीको शहर भएकाले काठमाडौंलाई अझ सुन्दर बनाउन सक्ने शाहले बताउनु भयो ।