प्रमुख दलहरू सच्चिनु नै सुरक्षित बाटो, देखाइदिउँ भन्ने प्रवृत्तिको परिणाम भोग्दैछौँः महासचिव पोखरेल

.

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रमुख राजनीतिक दलहरूले आफ्ना कमी–कमजोरी सच्याएर अघि बढ्नु नै नेपालको राजनीतिक भविष्यका लागि सुरक्षित बाटो भएको बताउनुभएको छ ।
शनिवार नेकपा (एमाले) तारकेश्वर नगर कमिटीद्वारा आयोजित ‘मिसन पार्टी जागरण २०८३’ तथा पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । महासचिव पोखरेलले जुन कारणले पार्टी र आन्दोलन कमजोर भएको हो, ती समस्याहरूको पहिचान र सम्बोधन गर्नु नै अहिलेको मुख्य सांगठनिक कार्यभार भएको उल्लेख गर्नुभयो । उहाँले पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा एकतावद्ध बनाउन शुद्धीकरण, सुदृढीकरण र रूपान्तरण अनिवार्य रहेकोमा जोड दिनुभयो । कार्यकर्ता पलायनप्रति चिन्ता व्यक्त गर्नुभयो । निर्वाचनमा पार्टीले सोचेजस्तो परिणाम ल्याउन नसके पनि जनताको मनोविज्ञान र भावना बुझेर अघि बढेमा एमालेले नै वर्तमान चुनौतीहरूको सामना गर्न सक्ने उहाँको दाबी छ । राष्ट्रका समस्या समाधान गर्ने क्षमता प्रमुख दलहरूमा मात्र रहेको जिकिर गर्दै उहाँले वैकल्पिक शक्तिका नाममा हुने प्रयोगले सही परिणाम नदिने तर्क गर्नुभयो । उहाँले देखाइदिउँ भन्ने प्रवृत्तिको परिणाम आज पार्टीले भोगिरहेको बताउनु भयो ।
महासचिव पोखरेलले भन्नुभयो, ‘आज तपाईंहरू पार्टी निर्माण, संगठनका चुनौती र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरिरहनुभएको छ । स्वाभाविक रूपमा, हाम्रो पार्टी र आन्दोलन कमजोर हुनुका कारणहरू पहिचान गरी तिनको सम्बोधन गर्नु नै अहिलेको पार्टी निर्माण र संगठन सुदृढीकरणको मुख्य विषय हो । केन्द्रिय सचिवालयले पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकतावद्ध बनाउन शुद्धीकरण, सुदृढीकरण र रूपान्तरण आवश्यक रहेको निष्कर्ष निकालेको छ । त्यसका लागि पार्टी पुनर्गठन आवश्यक भएकाले कार्ययोजना बनाउन कार्यदल गठन गरिएको छ । कार्ययोजना तयार भएपछि तपाईंहरूसामु आउने नै छ । तर संस्थागत निर्णय र कार्ययोजना पर्खेर मात्र हुँदैन । आफ्नो ठाउँको संगठनलाई व्यवस्थित र बलियो बनाउन तपाईंहरूले अहिलेबाटै पहलकदमी र मेहनत गर्नुपर्छ । कार्यकर्ता पलायन भइसकेपछि भोलि पार्टी नयाँ ढंगले अघि बढ्दा उनीहरूलाई फर्काउन गाह्रो हुन्छ । हामीले चुनाव हारेका छौँ, तर जनताको मनोविज्ञान र भावनालाई बुझेर अघि बढ्ने संकल्प गर्ने हो भने आजका चुनौती सामना गर्ने सामथ्र्य यही पार्टीसँग छ । राष्ट्रका समस्याहरू समाधान गर्ने क्षमता यही पार्टीबाहेक अरू कुनै पार्टीसँग छ भन्ने मलाई लाग्दैन । ‘देखाइदिऊँ’ भन्ने प्रवृत्तिको परिणाम के हुँदो रहेछ भन्नेकुरा आज हामीले भोगिरहेका छौँ । त्यसैले प्रमुख राजनीतिक दलहरूले आफ्ना कमी–कमजोरी सच्याउँदै अघि बढ्नु नै नेपालको राजनीतिक भविष्यका लागि सुरक्षित बाटो हो भन्ने कुरामा हामी सबैले भरोसा गर्नुपर्छ ।’
उहाँले संगठन निर्माणमा देखिएका समस्या समाधान गर्दै प्रविधिको अधिकतम प्रयोग गरी आगामी कार्ययोजना सफल बनाउन कार्यकर्ताहरूलाई निर्देशनसमेत दिनुभयो ।–न्युज एजेन्सी नेपाल