बालेनलाई प्रचण्डले भने– प्रधानमन्त्री आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, यो तरिकाले हुँदैन

.

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै नेता दाहालले प्रधानमन्त्रीले संसद र राजनीतिक दलहरूलाई बेवास्ता गरेको आरोप लगाउनुभएको हो । सम्बोधनका क्रममा दाहालले प्रधानमन्त्री सबैको साझा हुनुपर्ने उल्लेख गर्दै संसद्मा प्रश्तुत हुँदा अन्य सदस्यहरूको अस्तित्वलाई स्वीकार नगर्नु लोकतान्त्रिक पद्धतिअनुरूप नभएको टिप्पणी गर्नुभयो । विपक्षी दलहरूले सरकारलाई सहयोग गर्ने प्रतिवद्धता जनाउँदा जनाउँदै पनि प्रधानमन्त्रीले परामर्श र संवादमा रुचि नदेखाएको दाहालको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री आउनुहुन्छ र कसैको अनुहार नहेरी जानुहुन्छ, यो कस्तो खालको कार्यशैली हो ? हामी सबैले सहयोग गर्छौं भनिरहेका छौँ, तर प्रधानमन्त्रीले कसैको अनुहारसम्म हेर्नु नपर्ने सोच राख्नु उचित होइन । यो तरिकाले अगाडि बढ्न सकिँदैन ।’
दाहालले प्रधानमन्त्रीलाई प्राप्त वर्तमान अवसर ऐतिहासिक भएको स्मरण गराउँदै यसलाई खेर जान नदिन समेत आग्रह गर्नुभयो । उहाँले प्रधानमन्त्रीलाई सबै पक्षलाई समेटेर र जिम्मेवार भएर अघि बढ्न सुझाव दिनुभएको छ । –न्युज एजेन्सी नेपाल