काठमाडौं, १६ भदौ — संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीले भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको बाढी र पहिरोका कारण प्रभावित क्षेत्रमा २२ लाख टनभन्दा बढी गेग्रान थुप्रिएको प्रारम्भिक अनुमान गरेको छ।
यूएनडीपीले मंगलबार सार्वजनिक गरेको र्यापिड एसेसमेन्ट एन्ड एनालिसिस प्रतिवेदनअनुसार २६ अगस्टमा हिमताल र हिमाली संरचना भत्किएपछि आएको आकस्मिक बाढीले प्रभावित क्षेत्रमा पानी, ढुंगा, माटो तथा अन्य बस्तु बगाएर ठूलो क्षति पुर्याएको हो।
बाढीबाट ६ जिल्लाका १७ स्थानीय तहमा ८४ हजार २७० जना प्रभावित भएका छन्। प्रभावितमध्ये करिब तीनचौथाइ मानिस पहिले नै जीविकोपार्जन, आधारभूत सेवा तथा जीवनयापनका दृष्टिले बढी कठिन अवस्थामा रहेका क्षेत्रमा बसोबास गर्दै आएका थिए। बाढीका कारण ११ वटा जलविद्युत् आयोजना र एउटा सौर्य आयोजना गरी ४३१।१ मेगावाट क्षमताका ऊर्जा परियोजना सञ्चालनमा आउन सकेका छैनन्। निर्माणाधीन थप १५ वटा विद्युत् आयोजनामा समेत क्षति पुगेको छ, जसको प्रस्तावित क्षमता ४७० मेगावाट रहेको छ।
बाढीले बाली, पशुधन र कृषि जमिनमा पुर्याएको क्षतिले खाद्य सुरक्षा तथा परिवारको आम्दानीमा दीर्घकालीन असर पार्न सक्ने देखिएको छ। मनसुनमा धानलगायतका बाली रोप्ने मुख्य समय जुनदेखि सेप्टेम्बरसम्म हुने भएकाले बाढीको समयले कृषकलाई थप प्रभावित बनाएको छ।
यूएनडीपी नेपालकी आवासीय प्रतिनिधि क्योको योकोसुका अनुसार त्रिशूली करिडोरका समुदायका लागि यो विनाशकारी विपद् हो। परिवारहरूले आफन्त, घर र जीविकोपार्जन गुमाएको तथा प्रभावित समुदायहरू अत्यावश्यक सेवा र आपसी सम्पर्क पुनःस्थापित गर्न संघर्ष गरिरहेको उनले बताइन्।
“विनाशको मात्रा अत्यन्त ठूलो छ। तत्कालीन उद्धार तथा राहतसँगै सबैभन्दा बढी प्रभावित मानिससम्म पुनर्लाभको अवसर पुर्याउन र उनीहरूलाई सुरक्षित तथा थप उत्थानशील ढंगले पुनर्निर्माण गर्न सहयोग गर्नुपर्छ,” योकोसुकाले भनिन्।
यूएनडीपीले भू–उपग्रहमा आधारित भवन क्षति मूल्यांकन, उपलब्ध अन्य तथ्यांक तथा स्थानीय अवस्थाअनुकूल इन्जिनियरिङ अनुमानलाई संयोजन गरी गेग्रानको मात्रा र फैलावटको प्रारम्भिक मूल्यांकन गरेको जनाएको छ। थप तथ्यांक प्राप्त हुँदै जाँदा यो अनुमान अद्यावधिक गरिनेछ।
प्रारम्भिक मूल्यांकनअनुसार कुल गेग्रान मध्ये ५ लाख ५६ हजार २०० टन भवनजन्य रहेको अनुमान छ। यो अनुमान २ हजार ३५९ भवनमा गरिएको भू–उपग्रहमा आधारित क्षति मूल्यांकनमा आधारित छ र थप क्षति पहिचान हुँदै जाँदा यसको मात्रा बढ्न सक्ने यूएनडीपीले जनाएको छ।
यूएनडीपीका अनुसार गेग्रान केवल भौतिक क्षतिको सूचक मात्र होइन। भत्किएका भवन र माटो तथा गेग्रानको थुप्रोमुनि मानिसहरू फसेको वा बेपत्ता रहेको हुनसक्ने भएकाले उद्धार कार्यसमेत जोखिमपूर्ण र कठिन बनेको छ। सडक, घर तथा सार्वजनिक स्थान सफा गरेर पुनर्निर्माण अघि बढाउनु प्रभावित समुदायका लागि अर्को ठूलो चुनौती बनेको छ।