बस्याल पछि हटे, पाल्पामा कांग्रेसको कमान्ड माधव नेपालको हातमा

.

पाल्पा, भदौ २९ ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाल्पाका वडा, पालिका, प्रदेशसभा क्षेत्र र जिल्ला अधिवेशन सम्पन्न गराउने जिम्मेवारी माधव नेपालले पाउनुभएको छ। नेपाली कांग्रेसको संस्थापन पक्ष अर्थात् सभापति शेरबहादुर देउवा पक्षले यसअघि पाल्पाका लागि कृष्ण बस्याललाई केन्द्रीय प्रतिनिधिको जिम्मेवारी तोकेको थियो। तर, बस्यालले जिम्मेवारी अस्वीकार गरेपछि नेपाललाई नयाँ केन्द्रीय प्रतिनिधिका रूपमा जिम्मेवारी दिइएको हो।

 

१५औँ महाधिवेशन केन्द्रीय तयारी समितिका संयोजक डा. शशांक कोइरालाले भदौ १९ गतेको पत्रमार्फत नेपाललाई पाल्पाको केन्द्रीय प्रतिनिधिका रूपमा मनोनयन गरिएको जानकारी दिनुभएको छ। नेपालले यसअघि नेपाली कांग्रेसको जिल्ला सचिवसँगै पार्टी संगठन तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको भूमिका निर्वाह गरिसक्नुभएको छ। पार्टीले दिएको नयाँ जिम्मेवारीलाई आफूले सहर्ष स्वीकार गरेको बताउँदै उहाँले कुशलतापूर्वक र इमान्दारीताका साथ जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। केन्द्रीय तयारी समितिका संयोजक कोइरालाले नेपाल पार्टीप्रति उत्तरदायी, जिम्मेवार, अनुशासित र कर्तव्यनिष्ठ रहेको भन्दै अधिवेशन सम्पन्न गराउने जिम्मेवारी दिएको पत्रमा उल्लेख गर्नुभएको छ।

 

नेपाली कांग्रेसको १५औँ केन्द्रिय महाधिवेशन यही मंसिर २१, २२, २३ गते काठमाण्डौंमा गर्ने, वडा अधिवेशन असोज १५ गते, पालिका अधिवेशन असोज २० गते, प्रदेशसभा क्षेत्र तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन असोज २३ गते र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने निर्णय भएको छ। तोकिएको समयभित्र अधिवेशन सम्पन्न गर्न आवश्यक तयारी तथा समन्वय गरी प्रतिवेदन केन्द्रमा पठाउने जिम्मेवारीसमेत केन्द्रीय प्रतिनिधिलाई दिइएको छ।