खर्क व्यवस्थापनबाट जलवायु र बेरोजगारीको समस्या सम्बोधन गर्न सकिन्छः अध्यक्ष दाहाल

.

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले खर्क तथा चरन क्षेत्रलाई व्यवस्थित गर्नसके जलवायु परिवर्तनको प्रभाव न्युनिकरणसँगै पानीका मुहान संरक्षण, भूक्षयीकरण नियन्त्रण र बेरोजगारीको समस्या समाधानमा समेत योगदान पुग्ने बताउनुभएको छ ।
मंगलवार ‘नेपाल र भुटानका खर्क तथा चरन क्षेत्रको पुनस्र्थापना कार्यक्रमबाट प्राप्त अनुभवलाई नेपालको खर्क नीतिमा रूपान्तरण’ सम्बन्धी बहुसरोकारवाला छलफल कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले खर्क तथा चरन क्षेत्रलाई संरक्षण र प्रवद्र्धन गर्दै व्यवस्थित रूपमा उपयोग गर्नुपर्ने बताउनुभएको हो । उहाँले जलवायु परिवर्तन अहिले नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै टड्कारो र जटिल समस्याका रूपमा देखिएको उल्लेख गर्नुभयो । यसबाट नेपालले ठूलो पीडा भोगिरहेको उहाँले बताउनु भयो । जलवायु परिवर्तनमा नेपालको योगदान र अन्तर्राष्ट्रिय कारणबाट नेपालले भोग्नुपरेको असरबारे बहस भइरहे पनि आफ्नै तहबाट खर्क तथा चरन क्षेत्रको व्यवस्थापन गर्न सकिने अध्यक्ष दाहालले बताउनु भयो । अध्यक्ष दाहालकाअनुसार खर्क क्षेत्र व्यवस्थित गर्नसके पानीका मुहान संरक्षण गर्न र भूक्षयीकरणबाट जमिन जोगाउन सकिन्छ । यसले वातावरणीय संरक्षणसँगै स्थानीय समुदायको आर्थिक गतिविधि र रोजगारी विस्तारमा समेत सहयोग पु¥याउन सक्छ ।
नेपालमा बेरोजगारीको समस्या जटिल बन्दै गएको उल्लेख गर्दै उहाँले रोजगारी सिर्जनाका नयाँ अवसर खोज्ने क्रममा भइरहेका सम्भावनालाई संरक्षण र प्रवद्र्धन गर्न पनि उत्तिकै ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले खर्क तथा चरन क्षेत्रलाई केवल परम्परागत पशुपालनको क्षेत्रका रूपमा नहेरी जलवायु अनुकूलन, प्राकृतिक स्रोत संरक्षण र रोजगारी सिर्जनासँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, ‘अहिले जलवायु परिवर्तन हाम्रो सबैभन्दा टट्कारो र जटिल समस्याका रूपमा देखिएको छ । यो राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरकै चुनौती हो । जलवायु परिवर्तनबाट नेपालले भोगेको क्षति र त्यसमा अन्तर्राष्ट्रिय कारणको भुमिकाबारे पनि बहस भइरहेको छ । यस्तो अवस्थामा हामीले आफ्नै ठाउँबाट खर्क तथा चरन क्षेत्रलाई व्यवस्थित र संरक्षण गर्नसक्यौँ भने जलवायु परिवर्तन न्युनिकरण र अनुकूलनमा महत्वपूर्ण योगदान पु¥याउन सक्छौँ । खर्कको संरक्षणबाट पानीका मुहान जोगाउन, भूक्षयीकरण नियन्त्रण गर्न र वातावरणीय सन्तुलन कायम गर्न समेत सहयोग पुग्छ । त्यसैगरी, नेपालले भोगिरहेको बेरोजगारीको समस्या समाधानमा पनि खर्क तथा चरन क्षेत्र महत्वपूर्ण अवसर बन्न सक्छन् । पशुपालन तथा त्यससँग सम्बन्धित उत्पादन र व्यवसायलाई व्यवस्थित र प्रवद्र्धन गर्न सके स्थानीय स्तरमै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न सकिन्छ । हामी नयाँ रोजगारीका अवसर खोजिरहेका छौँ, तर भइरहेका अवसरको संरक्षण, प्रवद्र्धन र व्यवस्थित उपयोगमा पर्याप्त ध्यान दिन सकेका छैनौँ कि भन्ने प्रश्न पनि यस विषयले उठाएको छ । त्यसैले खर्क तथा चरन क्षेत्रलाई संरक्षण, वातावरणीय सन्तुलन, रोजगारी र स्थानीय अर्थतन्त्रसँग जोडेर अघि बढाउन आवश्यक छ ।’
खर्क तथा चरन क्षेत्रको संरक्षण र पुनस्र्थापनाका लागि स्पष्ट नीति तथा प्रभावकारी व्यवस्थापन प्रणाली आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले यस क्षेत्रमा रहेका अवसरलाई पहिचान गरी उत्पादन र रोजगारीसँग जोड्नुपर्ने बताउनु भयो ।–न्युज एजेन्सी नेपाल