अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला, २०७९ हुँदै

.

काठमाडौं-महिला उद्यमी महासंघको आयोजनामा छैटौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला, २०७९ हुने भएको छ । 

 

महासंघले यही भदौ २ गतेदेखि ६ गतेसम्म ललितपुरको सानेपा हेरिटेज गार्डेनमा अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्न लागेको हो । महासंघले आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी मेला आयोजना गर्न लागेको बारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै महिला उद्यमी महासंघकी अध्यक्ष निरु रायमाझी खत्रीले छरिएर रहेका महिला उद्यमीहरुलाई एउटै स्थानमा ल्याएर बजार व्यवस्थापन मात्रै नभइ व्यवसाय सञ्जाल बढाउने उद्देश्यले महिला उद्यमी व्यापार मेला गर्न लागेको बताउनु भयो ।

 

उहाँले मेलामा व्यवसायिक ज्ञान र अनुभव साटासाट गर्ने माध्यमको रुपमा लिएको बताउनु भयो । अध्यक्ष खत्रीले मेलामा सातै प्रदेशका महिला उद्यमीहरु सहभागी हुने बताउनु भयो ।

 

त्यस्तै, छैटौं अन्तरर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाकी संयोजक शोभा ज्ञवालीले मेलामा जिल्ला स्तरदेखि अन्तर्राष्ट्रिय महिलाहरुले उत्पादन गरेका सामग्रीहरु स्टलमा राखिने बताउनु भयो ।

News Agency Nepal