बलिउड फिल्म ‘इश्क पस्मिना’ को टिजर र गीत काठमाडौंमा सार्वजनिक

.

काठमाडौं – बलिउड फिल्म कम्पनी कृष्ण शान्ति प्रोडक्सन हाउसले निर्माण गरेको चलचित्र ‘इश्क पस्मिना’ को टिजर र गीत काठमाडौंमा सार्वजनिक भएको छ ।

 

प्रोडुसर सुरज सुर्या मिश्र, नायक भाविन भानुशाली र नायिका मालती चाहर सहितको टोलीले काठमाडौंस्थित होटल एम्वासडरमा मिडियाको लागि आयोजित कार्यक्रममा उपस्थित भएर टिजर र गीत सार्वजनिक गरेका हुन् । कार्यक्रममा सहभागी हुनको लागि शुक्रबार काठमाडौं ओर्लिएको टोलीले शनिवार बिहान पशुपतिनाथको दर्शन पनि गरेको थियो ।

 

नायक भाविन र नायिका मालतीको यो पहिलो फिल्म हो । भाविन भारतको लोकप्रिय टिकटक स्टार हुन् भने मालती भारतीय क्रिकेटर दिपक चाहरकी बहिनी हुन् ।

 

भारतको सिमलामा छायांकन गरिएको फिल्मले ९० को दशकको झल्को दिँदै नवीन प्रेम कथा भनेको फिल्मका निर्माता सुरज सुर्या मिश्राले बताए । उनले नेपाल र भारत नजिकै रहेको बताउँदै व्यवसायीक सम्बन्धलाई अझै भावनात्मक बनाउन आफू नेपाल आएको बताए । यस्तै नायिका मालतीले यो कथाले सबै युवापुस्ताको मन छुने बताईन् । नायक भविनले दर्शकले फिल्म हेर्दा आफूहरूले गरेको परिश्रम देख्ने विश्वास व्यक्त गरे ।

 

जी म्युजिक कम्पनीबाट सार्वजनिक भएको गीत ‘जोगी हो गया’ मा चर्चित भारतीय गायक जाबेद अलीले स्वर दिएका छन् । फिल्मको निर्देशन अरबिन्द पाण्डेले गरेका हुन् ।

 

‘इश्क पश्मिना’ फिल्मको ट्रेलर ७ सेक्टेम्बरमा सार्वजनिक हुने र सेक्टेम्बर २३ बाट नेपाल र भारतमा प्रदर्शनमा आउने जानकारी पनि कार्यक्रममा दिइएको थियो ।