चलचित्र ‘हिजो आजका कुरा’को ट्रेलर सार्वजनिक

.

काठमाडौं – वरिष्ठ कलाकार सन्तोष पन्तको निर्माण रहेको चलचित्र हिजो आजका कुराको ट्रेलर सार्वजनिक भएको छ ।

 

बुधवार काठमाडौंमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । आगामी असोज २८ गते प्रदर्शनको तयारीमा रहेको फिल्मलाई सन्तोषका छोरा साकार पन्तले निर्देशन गर्नुभएको छ । पन्त फिल्म प्रोडक्सनको प्रश्तुति रहेको फिल्ममा सन्तोष पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, दिव्यदेव पन्त, साकार पन्त, जेविका कार्की, स्वर्गीय जयनन्द लामा लगायतको अभिनय छ । रवि सायमीको छायांकन रहेको फिल्मलाई विनय कंसाकारले सम्पादन गर्नुभएको हो ।

 

कार्यक्रममा बोल्दै अभिनेता दिव्यदेव पन्तले पहिलाकै कथावस्तुलाई अहिलेको प्रविधि सुहाउँदो गरेर चलचित्रमा उतारिएको बताउनु भयो । उहाँले आफनो लागि कला देखाउने माध्यम पनि यही चलचित्र बनेको भन्दै खुशी प्रकट गर्नुभयो । त्यस्तै अभिनेत्री ऋचा शर्माले आफना लागि यो चलचित्रमा स्थान पाउनु खुशीको कुरा भएको बताउनु भयो । उहाँले नेपाली सिनेमा चल्नको लागि बलियो कथावस्तुको आवश्यक पर्ने भन्दै रोएर चलचित्र चलाउने ट्रेण्डले सफल नबन्ने बताउनु भयो । त्यस्तै वरिष्ठ कलाकार सन्तोष पन्तले हरेक दिन घरमा भोगिरहेका कुरालाई चलचित्रमा उतारिएको बताउनु भयो ।

News Agency Nepal