आगामी तीन वर्षमा मुलुक पूर्णरुपमा विद्युतमा आत्मनिर्भर हुन्छ : पम्फा भुसाल

.

काठमाडौं  -उर्जा जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले आगामी तीन वर्षमा मुलुक पूर्णरुपमा विद्युतमा आत्मनिर्भर हुने बताउनुभएको छ ।

 

बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले जलविद्युतको विषयमा उठाएका प्रश्नको संसदमा जवाफ दिँदै मन्त्री भुसालले पछिल्लो समय तीब्ररुपमा जलविद्युतको विकास भइरहेकाले आगामी तीन वर्षमा मुलुक पूर्णरुपमा विद्युतमा आत्मनिर्भर हुने यस्तो बताउनुभएको हो । उहाँले चालु आर्थिक वर्षमा नेपालमा विद्युत आयात भन्दा विद्युत निर्यात बढी भइ नेपाल खुद विद्युत निर्यातकर्ता देश बन्ने अवस्थामा पुगेको दाबी गर्नुभयो ।

 

मन्त्री भुसालले नेपालले भारतको इनर्जि एक्सेन्ज बजारमार्र्फत ३६४ मेगावटसम्मको विद्युत खरिद बिक्री गर्ने गरेको बताउनु भयो । उहाँले विद्युत प्राधिकरणले भारतमा निर्यात हुने विद्युत भारु ५ रुपैयाँ ७१ पैसा प्रति युनिटमा बेचिरहेको बताउनु भयो । मन्त्री भुसालले विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा भारतमा ३ अर्ब ८४ करोडको विद्युत निर्यात गरेको भन्दै चालु आर्थिक वर्षको अन्त्यसम्म १६ अर्बको विद्युत निर्यात हुने प्रक्षेपण गरिएको बताउनु भयो ।

 

उहाँले चालु आर्थिक वर्षको साउन महिनामा १ अर्ब ८४ करोड विद्युत निर्यात गरेको बताउनु भयो । मन्त्री भुसालले विद्युत निर्यातले भारतसँगको व्यापार घाटा कम गर्ने र नेपालीको विदेशी मुद्रा सञ्चितिमा थप योगदान पुग्ने बताउनु भयो ।

News Agency Nepal