रुग्ण उद्योगहरु सञ्चालन गर्ने मोडालिटी तयार छ: दिलेन्द्रप्रसाद बडू

.

काठमाडौं -उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले देशभरका रुग्ण उद्योगहरु सञ्चालन गर्ने मोडालिटी तयार भएको बताउनुभएको छ ।

 

मन्त्रालय सम्हालेको ५ महिना अवधिमा भएका कामबारे जानकारी दिन बिहीवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बडूले यसै वर्षदेखि बन्द रहकोमध्ये विभिन्न सात वटा उद्योग सञ्चालन गर्नेगरी अर्थ मन्त्रालयको निजीकरण इकाईमा पेस गरिएको बताउनुभएको हो ।

 

उहाँले रुग्ण उद्योगहरुको पुनः सञ्चालन र व्यवस्थापनका सम्बन्धमा गठित कार्यदलले गोरखकाली रवर उद्योग, जनकपुर चुरोट कारखाना, नेपाल ओरियण्ड एण्ड म्याग्नेसाइट प्रा.लि., नेपाल मेटल कम्पनी, बुटवल धागो कारखाना, विराटनगर जुट मिल र हेटौंडा कपडा उद्योग सञ्चालनको लागि विकल्प सहितको सञ्चालन मोडालिटि तयार गरिसकेको बताउनु भयो ।

 

मन्त्री बडूले कार्यदलले तयार गरेको मोडालिटि मन्त्रीपरिषद्बाट समेत पास भई उद्योग सञ्चालन गर्नेगरी अर्थ मन्त्रालयको निजीकरण इकाईमा पेस गरिएको बताउनु भयो । उहाँले मन्त्रालय सम्बन्ध १७ वटा सार्वजनिक संसाधन संस्थानहरुमध्ये ७ वटाको चल÷अचल सम्पती यकिन गरी संरक्षणको लागि अभिलेखन कार्य शुरु गरेको पनि बताउनु भयो ।

News Agency Nepal