काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र मरिससलाई पराजित गरेको छ ।
शनिबार भएको पहिलो मैत्रीपूर्णमा नेपालले मरिससलाई १–० गोल अन्तरले हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन विमल घर्ति मगरले निर्णायक गोल गरे ।
विमलले खेलको ५५ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । तीन वर्षपछि टिममा पुनरागमन गरेका विमलले पहिलो खेलमै गोल गरेका हुन् ।
अन्जन विष्टको लामो पासमा पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट विमलले प्रहार गरेको बलले पोस्टमा लाग्दै जाली चुमेको थियो । नेपालको लागि यो उनको नवौं गोल हो ।
मरिससविरुद्ध नेपाल सुरुआतबाटै आक्रामक रुपमा प्रस्तुत भएको थियो ।
खेलको १४ औं मिनेटमा नेपालका सुमन लामाले पेनाल्टी क्षेत्र बाहिरबाटको सशक्त प्रहार पोस्टको माथिबाट बाहिरिएको थियो ।
खेलको २२ औं मिनेटमा मरिससका स्टेभेन नाजिराको प्रहार नेपालका गोलकिपर तथा कप्तान किरण चेम्जोङले सहजै बचाए ।
३२ औं मिनेटमा नेपालका सुमनले पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गरेको बल आकाशियो ।
खेलको ३६ औं मिनेटमा मरिससका एड्रिन फ्रान्कोइसले सिक्स यार्ड बक्स नजीकैबाट प्रहार गरेको बल किरणले सहजै बचाए ।
४१ औं मिनेटमा नेपालका सुनिल बलको क्रसमा देवेन्द्र तामाङको हेडरले पोस्टको दिशा लिन सकेन ।
खेलको ४५ औं मिनेटमा नेपालका अन्जन विष्टले गोलको सुनौलो अवसर खेर फाले । मरिससको गोलकिपरसँगको वान भर्सेस वानको स्थितिमा अन्जनले बाहिर प्रहार गरे।
खेलको ४६ औं मिनेटमा फेर्नान्डो ज्याक्सनको प्रहार पोस्टमा लाग्दै फर्किएपछि मरिसस अग्रता बनाउन चुकेको थियो ।
६५ औं मिनेटमा मरिससका स्टेभेन नाजारियाको प्रहार गोलकिपर किरणले बचाए ।
खेलको ७५ औं मिनेटमा जगजित श्रेष्ठको फ्रि–किकमा अन्जनको फ्लिक हेडर बल पोस्टको क्रसबारमा लागेर फर्किदा नेपाल दोब्बर अग्रता बनाउन चुकेको थियो ।
यस्तै ७७ औं मिनेटमा अन्जनले पेनाल्टी क्षेत्रभित्रबाट प्रहार गरेको बल पुनः पोस्टमा लागेर फर्किएको थियो । त्यहिँ रिबाउन्डमा जगजितको हेडर मरिससका गोलकिपर केभिनले उत्कृष्ट बचाऊ गरे ।
खेलमा विमल प्लेयर अफ दि म्याच चुनिए ।
नेपालले पहिलो पटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेलेको हो ।
नेपालले अब मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण मंगलबार खेल्नेछ ।