नेपालले जित्यो युएईविरुद्धको एकदिवसीय सिरिज

.

काठमाडौं – आसिफ शेख र ज्ञानेन्द्र मल्लको शतकीय साझेदारीमा नेपालले यूएईलाई ६ विकेटले पराजित गर्दै ३ एकदिवसीय अन्तर्राष्ट्रिय खेलको शृंखला २–१ ले जितेको छ । नेपालले १ सय ७७ रनको लक्ष्य ४०.१ ओभरमा पुरा गर्‍यो ।

नेपालले पहिलो पटक घरेलु द्विपक्षीय एकदिवसीय शृंखला जितेको हो । यसै वर्षको मार्चमा नेपालले घरेलु मैदानमा खेलेको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा पपुवा न्य गिनीसँग २–० ले पराजित भएको थियो ।

अर्जुन साउद ९ रनमा आउट भएपछि आसिफ र ज्ञानेन्द्रले दोस्रो विकेटमा १ सय २२ रन जोडेका थिए । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको दोस्रो ठूलो साझेदारी हो । मार्चमा पपुवा न्यु गिनीविरुद्ध देव खनाल र दीपेन्द्रसिंह ऐरीले यसअघि तेस्रो विकेटमा १ सय २९ रन जोडेका थिए ।

ज्ञानेन्द्र ६३ रन बनाई आउट भए । एकदिवसीय अन्तर्राष्ट्रियमा यो उनको उच्च स्कोर पनि हो । गत वर्ष मस्कटमा ओमानविरुद्ध अविजित ५२ रन बनाएयता यो उनको पहिलो अर्धशतक हो । आयन खानको बलमा एलबीडब्लु आउट हुनु अघि उनले ७३ बल खेली ७ चौका र ३ छक्का प्रहार गरे ।

आसिफले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो पाँचौं अर्धशतक बनाउनेक्रममा म्याच विजयी ८८ रन जोडे । उनले १ सय १९ बल खेली १२ चौका प्रहार गरे । कप्तान रोहित पौडेल १० रनमा आउट भए । दीपेन्द्र खाता खोल्नु अघि आउट भए । रोहित र दीपेन्द्र रनआउट भए ।

यसअघि नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि ब्याटिङ गर्न आएको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई १ सय ७६ रनमात्र बनाउन सकेको थियो ।

आयन खान र हजरत बिलालले अन्तिम विकेटमा अविजित ८३ रनको साझेदारी गरेपछि यूएई केही बलियो बनेको थियो । यसै शृंखलाबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सुरु गरेका आयनले ६३ बलमा अविजित ५४ रन बनाए । उनले ७ चौका र १ छक्का प्रहार गरे । बिलालले ५४ बल खेली १ छक्कासहित २० रन बनाए । दुबैको एकदिवसीय अन्तर्राष्ट्रियमा उच्च स्कोर हो ।

त्यसअघि एलिसन सराफुले ३३ र रोहन मुस्ताफाले २४ रन बनाएका थिए । सराफुले ६९ बल खेल्दै ४ चौका प्रहार गरे । पूर्व कप्तान मुस्ताफाले ५६ बलको इनिङ्समा २ चौका प्रहार गरे । ओपनर मोहम्मद वासिमले ११ रन बनाए ।

दोस्रो ओभरको पहिलो बलमै वासिमले गुलशन झाको बलमा छक्का प्रहार गरेका थिए । त्यसको अर्को बलमा गुलशनले वासिमलाई विकेटकिपर आसिफ शेखबाट क्याच गराए । अर्का ओपनर वृत्य आनन्दलाई सोमपाल कामीले शुन्यमा बोल्ड गरे । गुलशनले यूएईका कप्तान सीपी रिजवानलाई ४ रनमा आसिफबाटै क्याच गराएपछि नेपालले खेल नियन्त्रणमा लिएको थियो ।

सराफु र मुस्ताफाले चौथो विकेटमा ६३ रनको साझेदारी गरेका थिए । दीपेन्द्रसिंह ऐरीले मुस्ताफालाई कुशलबाट उत्कृष्ट क्याच गराए पछि यूएईको पतन पुन: सुरु भएको थियो । सराफुलाई कुशलले आफ्नो लेग स्पिनबाट बोल्ड गरे । बसिल हमिद ८ र विष्णु सुकुमरन २ रनमा आउट भए । पूर्व कप्तान अहमद राजा र जाहुर खानले खाता खोल्न सकेनन् । जाहुर रनआउट भए ।

नेपालबाट गुलशन, दीपेन्द्र र कुशलले २–२ विकेट लिए । दीपेन्द्रले १० ओभरमा ३ मेडन राख्दै २२ रन खर्चे । ललित राजवंशीले १० ओभरमा २ मेडन राख्दै २० रनमात्र खर्चेर १ विकेट लिए ।

नेपालले अलराउन्डर करण केसीको स्थानमा हरिशंकर शाहलाई प्लेयिङ ११ मा राखेको छ । हरिशंकरले यसै शृंखलाको पहिलो खेलमा एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए ।

यूएईले पहिलो खेलमा नेपाललाई सजिलै ८४ रनले पराजित गरेको थियो । नेपालले दोस्रो खेल ३ विकेटले जित्दै शृंखला बराबरीमा ल्याएको थियो । नेपालले यूएईसँगको शृंखला लगातार दोस्रो पटक जितेको हो । २०१९ मा पनि नेपालले दुबईमा तीन खेलको शृंखलामा यूएईलाई २–१ ले पराजित गरेको थियो ।