तालबारही मन्दिर पुनर्निर्माण हुँदै

.

पोखरा – कास्कीको पोखरा महानगरपालिका–६ स्थित तालबारही मन्दिरको पुनर्निर्माण कार्य सुरु भएको छ । पुरातत्व विभागले मन्दिरको पुनर्निर्माण गर्न लागेको हो ।

 

तालबारही मन्दिर गुठी व्यवस्थापन समितिका अनुसार एक करोड ४४ लाख रुपैयाँ लागतमा मन्दिरको पुनर्निर्माण गर्न लागिएको हो । जसका लागि अहिले मन्दिरको पुरानो संरचना धमाधम भत्काउन सुरु गरिएको छ । त्यसलगतै पुनर्निमार्णका लागि डिपीआर(डिटेल प्रोजेक्ट रिपोर्ट) बन्नेछ । रिपोर्ट बनाउन पुरातत्वले सात ‘इन्जिनियर’ सहभागि भएको बिशेष टोली गठन गरिसकेको छ । सोही रिपोर्टका आधारमा अबको वर्ष दिनभित्र मन्दिरको पुनर्निर्माण सकिनेछ ।

 

 

गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले तालबारही मन्दिरको पुनर्निर्माण कार्य सुरु भएको बताए । उनले भने,‘तालबाहरी मन्दिरको पुनर्निर्माण हुने भएको छ । पुरातत्व विभागले यसका लागि १ करोड ४४ लाख रुपैयाँ दिएको छ । त्यसमा अन्य निकायबाट पनि रकम थप हुनेछ । अबको वर्ष दिनभित्र मन्दिर पुनर्निर्माणको काम सकिनेछ । त्यसकैका लागि अहिले मन्दिरको पुरानो संरचना भत्काउन लागिएको हो ।’

 

समितिका अनुसार मन्दिर ३ रोपनी ८ आना क्षेत्रफल जग्गामा बन्नेछ । मन्दिरको पुरानै प्रविधि अनुसार बनाउने वा नयाँ प्रविधिको प्रयोग गर्ने बिषय भने टुंगो लागिसकेको छैन । ०१७ सालमा तत्कालिन राजा महेन्द्र शाहले निर्माण गर्न लगाएको मन्दिरमा सुर्की, ढुंगा, माटो र काठ प्रयोग गरिएको थियो । मन्दिरको जग र गाह्रो २४ इन्च फराकिलो छ । १२ बैशाख ०७२ को भुकम्पका कारण मन्दिरको गाह्रो चर्किएको थियो ।
व्यवस्थापन समितिका अध्यक्ष कुँवरले भने,‘मन्दिर ३ रोपनी ८ आनाका जग्गामा बन्दैछ । मन्दिर पुरानोभन्दा भब्य बन्नेछ । यसका लागि पुरानो प्रविधि प्रयोग गर्ने की नयाँ यस बिषयमा हामी छलफल गर्दैछौं । १२ बैशाख ०७२ को भुकम्पले मन्दिरलाई क्षति प¥याएको थियो । त्यसो हुँदा मन्दिर पुनर्निर्माण गर्न लागिएको हो ।’

 

समितिका अनुसार ०१७ सालमा मात्रै ८० हजार रुपैयाँ लागतमा मन्दिर निर्माण गरिएको थियो । त्यसबेलाका स्थापित ओभरसियर रामबहादुर श्रेष्ठको निरीक्षणमा मन्दिर निर्माण गरिएको थियो । तालबारही देवी सपनामा आएपछि राजा महेन्द्रले उक्त स्थानमा मन्दिर निर्माण गर्न लगाएका थिए ।

 

समितिका अध्यक्ष कुँवरले भने,‘०१७ सालमा ८० हजार रुपैयाँको लागतमा मन्दिर बनेको थियो । राजा महेन्द्रलाई सपनामा तालबारही देवीले मन्दिर बनाउन आग्रह गर्नु भएको रहेछ । त्यसपछि उहाँले उक्त ठाउँमा मन्दिर बनाउन लगाउनु भएको रहेछ । त्यसबेलाका स्थापित ओभरसियर रामबहादुर श्रेष्ठको निरीक्षणमा यो मन्दिर निर्माण भएको थियो ।’