पाँच रातको पश्चिमी क्यारिबियन क्रूज समुद्रको ,यात्रा अनुभव

.

पाँच रातको पश्चिमी क्यारिबियन क्रूज समुद्रको ,यात्रा अनुभव

-बिन्दिया कार्की

 

जुनसुकै क्षेत्रमा पनि विकासको अग्रणी स्थानमा रहेको पश्चिमा जगतले मारेको फड्कोबाट हामीले अनुसरण गर्नुपर्ने धेरै कुराहरु छन् । जुनसुकै क्षेत्रामा ति देशले गरेको प्रविधिको उच्चतम विकासलाई हेर्ने हो भने हामीले गर्नुपर्ने यति धेरै कुराहरु छन् जहाँ सम्भावना र विकासको आवश्यकता दुवै देखिन्छ ।

 

नेपालमा एकताका नारायणी नदीमा बोट ल्याएर चलाउने कुराको व्यापक रुपमा विरोध भयो । त्यो विरोधको आ आफ्नै कारण होला तर्कपनि होला तर पश्चिमा जगतलाई हेर्ने हो भने हामी कतिधेरै पछाडि परेको रहेछौं भन्ने अनुभूति गर्न पाँच दिनको क्रूज यात्राले मलाई निकै गहिरो संग सोचमग्न गरायो ।

 

एउटा क्रूजमा यस्तो लाग्थ्यो मानौ कि, सारा कुरा अटाएको छ । खाना देखि लिएर आवश्यक सबै कुरा त्यहिं थियो । हाम्रोमा जुन क्षेत्रमा पनि विकास जति हुनुपर्ने हो, त्यसले गति लिनै सकेको छैन् । फलस्वरुप हामी जहाँको त्यहि नै छौं ,जव कि संसारका अरु कतिपय देश जो हामी भन्दा पनि कम विकसित मुलुकबाट माथि उठेर आज विकसित मुलुकको श्रेणीमा छन् । हामी कहिले विकसित हुने ?कहिले माथि उठ्ने प्रश्न मात्र छन् उत्तर बिनाको ।

अब लागौं विषयवस्तु तर्फ । मैले अमेरिकाको बसाईमा पाँच दिने रमाइलो सामुन्द्रिक यात्रा गर्ने मौका जुरेकाले आफन्तको साथमा घुमे । ति पाँच दिनको यात्राले धेरै कुरा सिकायो र बुझायो । पाँच दिनको जहाज यात्रामा आवश्यक पर्ने सामानहरु किन्ने देखि यात्राको तयारी जोडतोडले चल्दै थियो । मरो पहिलो यात्रा भएकाले पनि होला उत्सुकता संगै डरले पनि मनमा घर गरेको थियो ।
ओहो पाँच दिन लामो यात्रा जहाजमा कसरी गर्ने ? घरमा बस्ने बानी लागेका हामीलाई पाँच दिनसम्म जहाजको जहाजैमा कसरी बिताउने होला ? कस्तो होला यात्रा यावत कुरा मनमा खेल्दै थियो ।

 

त्यो दिन आयो जव हामी आफन्तहरुको १० जनाको एक टोली नै यात्राको लागि निस्कियांै । सामुन्द्रिक यात्राको क्रममा त्यहाँ नेटवर्कले कतै काम नर्गन सक्ने भएकाले त्यसको जानकारी पहिलेनै हामीलाई गराईएको थियो । र त्यही अनुसार नेपालमा परिवारलाई पनि जानकारी गराइयो । अन्तत ‘क्यारिबियन सागरको भव्यता’ संगै हाम्रो यात्रा सुरु भयो ।

 

‘रोयल क्यारिबियन सागरको भव्यता’ हामी चढेको क्रूजको नाम थियो । नाम जस्तै त्यसको भित्री भव्यताले मलाई मोहक बनायो । पाँच दिनको यात्रा सुरु गर्नुपूर्व जति लामो लागेको थियो, यात्रा पछि निकै छोटो भएको अनुभूत गरे ।

 

 

हामी अमेरीकाको टेक्सास शहरको ड्यालसमा थियौ । त्यहाँबाट ह्युस्टन, टेक्सासकोे ग्यालभेस्टेनमा रहेको वे क्रूज टर्मिनल सम्म पुग्नुपर्ने । गाडिमा जादा त्यहाँ पुग्नै चार घण्टा लाग्ने । त्यसपछि बल्ल वे क्र्रूज टर्मिनल पुगियो । नियम बमोजिम अध्यागमन प्रकृया सकेर जहाज भित्र लाग्यौ । बाह्र तलाको जहाजमा सुरक्षा जाँच पश्चात बुक गरिएको रोयल क्यारिबियन इन्टरनेशनल डेक अनुसार डेक चार अन्र्तगतको चार हजार पाँच सय सन्ताउन्न नम्बरको आफ्नो सिटमा पुगियो । सामान्य आराम पश्चात खाजा खाएर म जहाज यात्राको पहिलो दिनको अनुभव बटुल्न थाले उत्सुताको साथ ।

 

पहिलो दिन,हेर्दा जहाज तर त्यो भित्र यति पूर्ण संरचना थियो कि उस्तै परे हराइने रहेछ । आँखिर भित्रै छौं र पनि संगै भएका साथीभाईलाई भेट्नै मुस्किल पर्ने। त्यसको भब्यता संगै हरेक खानाको परिकार देखि लिएर प्राय आवश्यक सबै कुराको व्यवस्थापन थियो ।
यात्राको पहिलो दिन जहाज भित्रको भ्रमण मै बित्यो । मैले यो भित्र एउटा छुट्टै संसार पाए । मनोरञ्जनका लागि चाहिने हरेक चिज उपलब्ध थियो । स्विमिङ्ग पुल, शारिरीक व्यायाम स्थल, टेनिस कोर्ट,स्पा, पार्लर,सैलुन,मसाज सेन्टर,विभिन्न खेल, स्वास्थ्य सेन्टर,सिनेमा हल,बार, थरीथरीका रेष्टुरा, म्युजिक कन्सर्ट स्थल,थियटर, ,ब्यपारीक पसलहरु,महिला,पुरुष,बालबच्चा,सबै उमेर समुहका लागी पाइने उपहार सामग्री, गरगहना देखि लिएर चाहिएको हरेक कुरा त्यसै भित्र उपलब्ध थियो । पहिलो दिन नयाँ अनुभव बटुल्दै रात पर्यो ।
रातको समय बाहीर हेर्दा निलो समून्द्र, कतै जमिनको भाग देखिदैन ,डर पनि लाग्ने र मनमा विभिन्न तरङ्गहरु आउने रहेछ । नयाँ अनुभव थिए सबै ।

दोश्रो दिन

 

दोश्रो दिन पनि यात्रा रोचक रुपमै अगाडि बढ्यो । बिहानै देखि एकदम ताजा भएर नाष्ता गरेसंगै समुन्द्र वरपरका दृश्यहरुको अवलोकन गर्दै त्यहाँको सफर खुबै रमाइलो भयो । यो बीचमा जहाजहरुको दृश्य अवलोकन गरेसंगै फोटो र भिडियो खिच्नु, सांगीतिक माहोलमा रमाउनु हाम्रो दिनचर्याको एक पाटो बन्यो । समुन्द्रको यात्रामा जति पर हेर्दा पनि एकाध सामुन्द्रीक जहाज बाहेक देखिने त निलो समुन्द्र नै हो । त्यसको अलवा मनोरञ्नका लागि हरेक कुरा जहाज भित्र नै उपलब्ध थिए । दोस्रो दिन समुन्द्रलाई नजिकबाट निहारेसंगै विविध खेल र कार्य गरेर बिते ।

तेश्रो दिन

 

यात्राको तेश्रो दिन, मेक्सिको शहरको पोर्टो कोस्टामाया पुगियो । जहाज कोस्टामाया मेक्सिकोको पोर्टमा रोकियो । आवश्यक सामग्रीका साथ हामी बाहिर निस्केर कोस्टामाया लाग्यौं । मेक्सिको शहरको सानो भाग रहेछ कोष्टामाया । कोस्टामाया मेक्सिकोको क्विन्टाना राज्यको ओथोन पीब्लान्को नगरपालिकाको एउटा सानो पर्यटकीय क्षेत्र । जसको पूर्वपट्टी क्यारिबियन सागरले घेरिएको, नगरपालिका बेलीजको सिमानामा चेतुमल (राज्यको राजधानी) नजिक पर्दाेरहेछ । यो क्षेत्र सामान्यतया अविकसित भएपनि क्रूज जहाजहरूका लागी ठूलो घाटको निर्माण पछि द्रुत रूपमा विकास भएर पर्यटकीय स्थल बनेको रहेछ । याहाँको आर्थिक उपार्जनको प्रमुख श्रोत पनि पर्यटन व्यवसाय नै रहेछ ।
पर्यटकीय स्थल भएकाले पनि होला पर्यटकका लागी त्यहाँका बासिन्दाहरुले मौलिक भेष भुषामा सजिएर कला, सस्कृतिले भरिएका मनोरञ्जनपुर्ण गतिविधिले आकर्षक रुपमा स्वागत गर्ने रहेछन् । उनीहरुको मौलिक संस्कृति र परम्परा झल्किने सामग्री देखि आकर्षक पर्यटकीय स्थलको अवलोकन एवं स्थानीय खानाका परिकार त्यहाँको विशेषता लाग्यो । सफा र व्यवस्थित ठाउँले मन लोभ्याएको थियो ।

मेक्सिकनहरु झटट् हेर्दा कता कता नेपालीहरु जस्तै लागे मलाई । साच्चै भन्नुपर्दा त्यहाँका नागरिकहरु र सम्बन्धित निकायले पर्यटकका लागि राम्रो काम गरेको देखिन्छ । दिनभर कोस्टामाया को भ्रमण गरियो । धेरै कुराको नयाँ अनुभव गर्ने अवसर कोस्टमायामा पनि पायौं ।

चौथो दिन

बिहान हामी मेक्सिकोको कोजुमेल पोर्टमा पुग्यौं । त्यहाँ पुगेसंगै आवश्यक सामग्री लिएर कोजुमेल भ्रमणको लागी हिड्यौं । कोजुमेल मेक्सिकोको युकुटन प्रायदीपको पूर्वी तटमा स्थित क्यारिबियन सागरमा रहेको एउटा टापु रहेछ । त्यहाँको मुख्य आर्थिक श्रोेत पनि पर्यटन व्यवसाय नै रहेछ ।

 

मौलिक कला संस्कृति, भेषभुषा र खानाको विविध परिकार पर्यटकले रुचाउने रहेछन् । त्यहाँ पुगेर हामीलाई एउटा लोकल अल्कोहल बनाउने फ्याक्ट्री अवलोकन गर्ने अवसर मिल्यो । उक्त पेय पदार्थ हाम्रो भाषमा लोक्तो भन्ने बोट विरुवा पाईन्छ ,त्यसै बाट प्रसोधन र उत्पादन गरिदो रहेछ । गर्मीे ठाउँ भएकोले नरिवल पानी पाईंदो रहेछ । समुन्द्रछेउमा पौडीखेल्ने व्यवस्था रहेकोले आराम गर्दै समुन्द्र लगायत प्राकृतिक सौन्दर्यताको भरपुर आनन्द उठाउन पाइयो । मलाई लाग्यो कि आनन्द उठाउन सफल भैयो पनि । चौथो दिन त्यहाँको सामुन्द्रीक र प्राकृतिक सुन्दरतालाई निहार्दैमा रात परेको थाहै पाइएन ।

 

यात्राको अन्तिम दिन बिहानै उठेर फ्रेस भएपछि नास्ता लिदै विभिन्न रमाईला खेलमा केही समय बिताइयो । जहाज भित्रका बजारहरु घुम्ने र अवलोकनका विविध कार्य भए त्यो दिन । रमाईला क्षणहरु पछि समय घर्किदै थियो मलाई समयको अभाव महसुस भयो । हतार गर्दै सकेम्म सबैमा सहभागी हुने मनसायले अघिल्ला दिनमा नगरेका कतिपय कार्य त्यहि दिन गरियो । जहाज हाम्रो गन्तव्यमा पुगिसकेको थियो । यात्रा टुंगिएको थाहै भएन । ति समय अमूल्य पलको रुपमा मनमा रहिरहे ।

 

पाँच दिन लामो यात्राले विश्राम लिएको थियो ,मलाई धेरै कुराको नयाँ अनुभव गर्ने मौका मिलेको थियो यात्रामा । सोच्छु नेपालमा यतिका धेरै पर्यटकीय स्थलहरु छन् । त्यसलाई व्यवस्थित गरेर पर्यटन क्षेत्रलाई विकास गर्न सक्ने हो भने पर्यटन क्षेत्र संगै नेपालको आर्थिक विकासका लागि पनि यसले ठूलो सहयोग पुग्ने देखिन्छ ।