लेखा समितिले जोखिम र ठूला बेरुजु बारेको छलफललाई प्राथमिकता दिनुपर्छः सांसदहरु

.

सार्वजनिक लेखा समितिले जोखिम र ठूला बेरुजुका विषयलाई प्राथमिकता दिएर काम गरी परिणाम निकाल्न आवश्यक रहेको सांसदहरुले बताएका छन् ।

मंगलवार बसेको प्रतिनिधि सभा अन्तर्गतको लेखा समितिको बैठकमा बोल्दै अधिकांश सांसदहरुले सार्वजनिक लेखा समितिप्रति जनताको आशा रहेको भन्दै जोखिम र ठूला बेरुजु लगायत अन्य काण्डहरुको विषयमा प्राथमिकताका साथ काम गर्नुपर्ने बताएका हुन् । उनीहरुले सार्वजनिक लेखा समितिले लोकप्रियता र निर्देशनको आधारमा भन्दा पनि जनताको चासोको विषयमा सरकारले कार्यान्वयन गर्ने गरी निर्देशन दिन आवश्यक रहेको बताए । सांसदहरुले लेखापरिक्षक कार्यालयले सार्वजनिक गरेका सम्पूर्ण निकायहरुको बेरुजुको विषयमा भन्दा पनि प्राथमिकताको आधारमा छलफल र अध्ययनको काम गर्नु पर्ने बताए । समितिले सबै विषयमा छलफल गर्ने भन्दा पनि प्राथमिकिकरण गरी जोखिम, धेरै बेरुजु फछ्र्यौट नभएका र ठूला भ्रष्टाचारका काण्डका विषयमा परिणाम हुने गरी काम गर्न आवश्यक रहेको बताए । महालेखापरिक्षक कार्यालयले निकाल्ने बेरुजु महापुराण जस्तो भएको टिप्पणी सांसदहरुको थियो । समिति बैठकमा बोल्दै नेकपा एमालेका सांसद गोकुलप्रसाद बास्कोटाले समितिले बेरुजुको विषयमा महालेखा, मुख्य सचिव र सचिवहरुसँग छलफल गर्नु आवश्यक रहेको बताउनु भयो । उहाँले महालेखाको प्रतिवेदन महापुराना जस्तो भएको टिप्पणी गर्नुभयो । उहाँले महालेखाको प्रतिवेदनमा भएको कुरा नभएर भाषण मात्रै लेखेको दाबी गर्नुभयो । उहाँले महालेखाले गोलमोटल प्रतिवेदन सार्वजनिक गर्ने गरेको भन्दै महालेखाले यस्तो खालको प्रतिवेदन दिएर बेरुजु लगायतका विषयमा केही सुधार हुन नसक्ने उल्लेख गर्नुभयो । उहाँले प्रतिवेदनमा लेखापरिक्षकको विज्ञता मात्रै देखाएको उल्लेख गर्नुभयो । उहाँले समितिले चालु आर्थिक वर्षबाट सुधार गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले समितिले उपसमिति गठन गर्दा बिरालो बाँधेर सराध्य गर्ने जस्तो गर्न नहुने बताउनु भयो । उहाँले तत्काल बाहिर निस्कनुभएका मन्त्रीहरु सोही मन्त्रालय हेर्नेगरी उपसमितिमा राख्न नहुने बताउनु भयो । उहाँले उपसमितिमा सदस्यहरु दोहोरिएमा स्वार्थ बाझिने सम्भावना हुने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘समितिको उपसमिति गठन हुँदा विभिन्न विधा होला । तर बिरालो बाँधेर श्राद्य गर्ने जस्तो त्यहाँ पनि अर्को सेटिङ नगर्नु । मेरो एउटा अनुरोध छ । तत्काल बाहिर निस्कनुभएको मन्त्रीहरु सोही मन्त्रालय हेर्नेगरी उपसमितिमा नबसौं । सकिन्छ भने पूर्वमन्त्रीहरु पनि नबसौं । उपसमितिमा सदस्यहरु दोहोरीएको छ भने स्वार्थ बाझिने सम्भावना हुन्छ । समितिले महालेखा र मुख्यसचिव र सचिवहरुसँग छलफल गर्नुपर्छ । महालेखाको प्रतिवेदन महापुराण जस्तो भएको छ । भाषण मात्रै लेखेको छ भएको कुरा केही लेखेको छैन । गोलमोटल प्रतिवेदन छ । यस्तो खालको प्रतिवेदन दिएर हामी कही पनि पुग्दैनौं । त्यो लेखापरिक्षकको विज्ञता देखाए जस्तो देखिन्छ । यो कुरामा पनि शुरु गरौं अर्को वर्ष देखि सुधार गरौँ ।’

त्यस्तै सांसद अमरेशकुमार सिंहले सार्वजनिक लेखा समितिले बेरुजु हेर्ने निश्चित समयअवधि तोकेर हेर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारका विभिन्न निकायको २७ साल देखिको बेरुजु रहेको भन्दै समितिले कसरी हेर्ने समस्या रहेको बताउनु भयो । उहाँले समितिले पुरानो बेरुजुलाई अनुसन्धान गरी नयाँलाई बेरुजु नहुने गरी काम गर्नु आवश्यक रहेको बताउनु भयो । उहाँले समितिले चिया खाजाको बेरुजुको विषयमा भन्दा पनि अर्र्बौं रुपैयाँ बेरुजुको विषयलाई प्राथमिकता दिन आवश्यक रहेको बताउनु भयो । उहाँले समितिले आगामी दिनमा सरकारी सम्पती कुनैपनि हिसावमा दुरुपयोग नहुने गरी परिणाम आउने गरी काम गर्नुपर्ने बताउनु भयो । उहाँले मन्त्रीहरुले पाउने सेवा सुविधाका विषयमा पनि छलफल गरी छानबिन समितिले गर्न सक्नुपर्ने बताउनु भयो ।

नेपाली काँग्रेसका सांसद राजन केसीले मुलुकमा बेरुजु बढ्नेको प्रमुख कारण भ्रष्टाचार मात्रै नभएको बताउनु भयो । उहाँले बेरुजु बढ्नुमा ऐन नियम,कानून र बेथितिका कुराहरु रहेको बताउनु भयो । उहाँले जसरी भएपनि अवेज्ञा गर्ने मानसिकताले काम गरिहेको बताउनु भयो । उहाँले सार्वजनिक लेखा समितिको क्षेत्राधिकार भएको राष्ट्रिय आय व्यय ठिक तरिकाले कानून अनुसारको भयो की भएन भन्ने विषयमा राम्रो अध्ययन भएका सांसदहरु उपसमितिमा बसेर काम गर्नुपर्ने बताउनु भयो । उहाँले सरकारको बेरुजु शुन्यमा झार्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले प्रत्येक वर्ष २५ देखि ३० प्रतिशतसम्म बेरुजु वृद्धि भइरहेको बताउनु भयो ।

नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सुन काण्ड,भूटानी शरणार्थी,बालुवाटार जग्गा र गिरीबन्धु टि स्टेट काण्डका विषयमा समितिमा छलफल हुन आवश्यक रहेको बताउनु भयो । उहाँले यस्ता विषयमा समितिले छलफल र बहस गरेर निराकरण गर्नुपर्ने बताउनु भयो । उहाँले संघीय सरकार  र प्रदेश सरकार मातहतमा रहेका निकायहरुको बेरुजु फछ्र्यौट गर्ने काम सार्वजनिक लेखा समिति र संसदले गर्छ तर स्थानीय सरकारले आफैँ खर्च र बेरुजु फछ्र्यौट पनि आफैँ गर्ने बताउनु भयो । उहाँले अहिलेसम्म विश्वको इतिहासमा आफै खर्च गरेर बेरुजु फछ्र्यौट आफैँ नगरेको भन्दै स्थानीय सरकारले खर्च गरेको महालेखाले लेखापरीक्षण गर्दा डरलाग्दो समस्या निम्त्याउने खतरा रहेको बताउनु भयो । त्यस्तै, सांसद लेखनाथ दाहालले पदमा बस्दा बेथिति नदेख्ने तर पदभन्दा बाहिर आएपछि विज्ञको रुपमा प्रश्तुत हुने परम्परा रहेको बताउनु भयो । उहाँले बेरुजु फछ्र्यौट र असुल उपर बेरुजुको बारेमा पुनः लेखापरीक्षण गर्नुपर्ने बताउनु भयो । उहाँले पुनः लेखापरीक्षण गर्दा बेरुजु असुल उपर र असुल उपर बेरुजु फछ्र्यौटमा बदलिन सक्ने बताउनु भयो। उहाँले लेखा परीक्षणमा पारदर्शिताको अभाव रहेको बताउनु भयो । उहाँले ९६० अर्ब बेरुजु र ३२५ अर्ब असुल उपर बेरुजु किन फछ्र्यौट हुन सकेन भनेर समस्या पत्ता लगाउन आवश्यक रहेको बताउनु भयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले मुलुकमा भ्रष्टाचार र बेथितिले सीमा नागेको अवस्था रहेको बताउनु भयो । उहाँले राज्यको लगानी भएका निकायहरु राष्ट्रिय बीमा संस्थान,साल्ट टेनिङ,विशालबजार विगत लामो समयदेखि अडिट नभएको बताउनु भयो । उहाँले सरकारी संस्थानहरुमा राजनीतिक स्वार्थ बाझिँदा समस्या देखिएको बताउनु भयो । उहाँले सार्वजनिक लेखा समितिले सरकारलाई आगामी वर्षमा सुशासनमा लैजान, भ्रष्टाचार न्युनिकरण र बेरुजु वृद्धि नहुने गरी काम गर्नुपर्ने बताउनु भयो । उहाँले बेरुजुको विषयमा ठूला भन्दा पनि सरकारी निकायहरुबाट नै अनुसन्धान गरी फछ्र्यौट गारउने काममा समिति लाग्नुपर्ने बताउनु भयो । त्यस्तै,एकीकृत समाजवादीमा सांसद प्रेम आलेले मुलुकमा बेरुजु र वक्यौता रहनुमा राजनीतिक कारण भएको बताउनु भयो । उहाँले माथिदेखि तलसम्म राजनीतिक सेटिङको कारण मुलुकमा अर्बौंको बेरुजु देखिएको बताउनु भयो ।

उहाँले क्यासिनो तथा ट्रंक लाइन डेडिकेटेट लाइनको गरी करिव २० अर्ब रुपैयाँ वक्यौता पुगेको बताउनु भयो । उहाँले अघिल्लो समितिमा ट्रंक लाइन डेडिकेटेट लाइनको उपसमितिले छानबिन गरी समितिले प्रतिवेदन बुझायो तर कार्यान्वयन नभएको बताउनु भयो । उहाँले पार्टीलाई चन्दा दिने भएकाले प्रतिवेदन अनुसार कार्यान्वयन नभएको आरोप लगाउनु भयो । उहाँले राज्यलाई कर नतिर्ने र वक्यौता राख्नेहरुको खल्तीमा राज्य रहेको बताउनु भयो ।