काठमाडौं -पछिल्लो समय सर्वाधिक रुचाइएकी गायिका समिक्षा अधिकारीको आवाजमा चर्चित पूरानो गीत ‘शीर सजाउने’ सार्वजनिक गरिएको छ ।
सगरमाथा डिजिटलले गायक शिव परियारको आवाजमा रहेको यस गीतलाई गायिका अधिकारीको स्वरमा ‘फिमेल भर्सन’ सार्वजनिक गरेको हो । करिब १० वर्ष अघि सगरमाथा डिजिटलले नै गायक परियारको स्वरमा यस गीतलाई बजारमा ल्याएको थियो । १० वर्षपछि गीतले बल्ल महिला आवाज पाएको हो । कर्ण चापागार्इंको शब्द रचनामा रहेको यस गीतमा वसन्त सापकोटाले संगीत दिएका छन् ।
विगतमा पनि सापकोटाकै संगीतमा गायक परियारले गीत गाएका थिए । गायक परियारको स्वरमा यसअघि यस गीतले युट्युवमा १८ लाख ४२ हजार हाराहारीमा भ्युज पाएको थियो । गायिका अधिकारीको स्वरमा पनि गीत लोकप्रिय हुने निर्माण पक्षको भनाइ छ । गीतको एरेन्ज विशम सापकोटाले गरेका हुन् । अनिल के मानन्धरको निर्देशनमा रहेको यस गीतमा गायिका अधिकारी नै भिडियोमा देखिएकी छन् । ए प्लस रेकर्डिङ स्टुडियोमा यस गीतको रेकर्ड सबिर केसीले गरेका हुन् भने सरोज केसीले गितार बजाएका छन् ।
बाँसुरीमा रत्न बिके छन् भने तबला तथा ढोकल बुढाथोकीले बजाएका छन् । सगरमाथा डिजिटल्सले यसअघि झरनाको चिसो पानी, हिउँचुलीमा घाम लगायतका कालजयी गीतहरू सार्वजनिक गरिसकेको छ । नयाँ गीत पनि विगतको गीत जस्तै दर्शक तथा स्रोताले रुचाउने कम्पनीको भनाइ छ ।
भिडियो