मलाई अचम्म लाग्दैन
-जनार्दन रिजाल
नख्खु मार्ग ललितपुर
मलाई अचम्म लाग्दैन
सर्पलाई दुध पिलाए पनि
विष नै ओकल्छ
मलाई यो पनि अचम्म लाग्दैन
बाघ जति बुढो भए पनि
घाँस खाँदैन
मासु नै खान्छ
मलाई यो पनि अचम्म लाग्दैन
खरायो विस्तारै हिड्न जान्दैन
कछुवा दौडन सक्दैन
र
चील आकासमा घुम्न छोड्दैन
तर
मान्छे भन्ने जात
लोभलालच र आडम्वर गर्छ
अनि मजाले डकार्छ
भष्ट्र आचरणबाट कमाएको सम्पति
अनि भन्छ
“म लोभ गर्दिन
लालच छैन
भ्रष्ट्र आचरण त
ममा जन्मजात नै छैन
मलाई घेराबन्दी गर्ने
षडयन्त्र हुँदैछ
तर म डराउन्न”
तर सबैभन्दा
डराएको देखिन्छ
छटपटाएको देखिन्छ
अनि आफ्ना विरोधीलाई
फकाउँछ, तर्साउँछ
अनि नभए
लोभ पनि देखाउँछ
अनि पनि
मलाई अचम्म लाग्दैन
मलाई लाग्छ
उ जन्मेकै कजाउँन
हजारौं ब्वासाहरुको
मृत्यु पछि
उ सिर्जित हुन्छ
कति सजिलै
सफा झुट बोल्छ
मलाई अचम्म लाग्दैन।