भुषण मणी गौतमको – लघुकथा: ‘म बाछो’

.

मलाई पटक्कै थाह थिएन आमाको पेटमा छँदा, मेरी आमा नेपालको कुन ठाउँमा पालिएकी हुनुहुन्छ भनेर । म जँन्मदा मात्र थाह भयो म नेपालको राजधानी काठमाडौँको मुटु नयाँ बानेश्वर स्थित शंखमुलमा जन्मिएको रहेछु ।

 

म अझै सम्झन्छु कस्तो कष्ट थियो आमाको पेटमा रहँदाको मेरो जिवन। आमाले खाएको खानाबाट टन्न अघाउन्न थेँ म। अघाउन मलाई हम्मेहम्मे पर्थ्यो । आमाको पेटमा दु:ख नै सहि,  म नाँचथेँ, खेल्थेँ, रमाउथेँ, गुनगुनाउथेँ, बहुत रमाइलो थियो। कहिले कहीँ आमाले घाँस नपाएको दिन केवल बजारे दाना खानुहुन्थ्यो । त्यो समय आमाको पनि पेट दुख्थ्यो अनि मेरो पनि। कहिले काहीँ आमा प्रदुषण युक्त पानी पिउनुहुन्थ्यो। त्यो बेला त आमालाई पखाला चल्थ्यो र मलाई पनि पेट दुख्थ्यो, आमा सिथिल बन्नुहुन्थ्यो । अनि म पनि । यसरी ९ महिना कष्टकर रुपमा आमाको पेटमा हुर्किएर म जन्मिएँ । जन्मने बित्तिकै मेरी आमा पाल्ने साहुले मेरो लिङ्ग हेरे। उनि यस्तो निरास देखिए कि भनि साद्दे छैन । किनकी म बाछी हैन बाछो थिएँ ।

 

जन्मने बितिकै आमाले मलाई लगभग १/२ घण्टा मायाँले चाटिरहनु भयो। मेरी आमा पाल्ने साहुले म बाछो भएको भएर होला सायद मलाई उभ्याएर आमाको दुध चुस्न पनि सहयोग गरेनन्। म निक्कै कष्ट गरेर बल्ल बल्ल ठिङ्गग उभिएँ र आमाको फाँचो दु:ख सुख पत्ता लगाई मनग्गे दुध चुसेँ । हो त्यो पहिले पल्ट चुसेको दुध जति दुध त्यो दिनदेखि कहिल्यै चिस्न पाइँन मैले मेरी आमाका लाम्टाबाट।

 

दोश्रो दिनदेखि मलाई अलि अलि आमाको दुध चुस्न दिई एकबाल्टी बिगौती दुध दुएर साहुजी घरतिर लाग्थे। आमाको दुध खान नपाएपछि मानिसको आका गनाउने धाँस खै कहाँबाट ल्याउँथे साहु म बल्ल बल्ल चपाएर निल्थे । आमा मैले त्यो गनाउँने घाँस बल्लतल्ल खाएको देखेर गहभरि आँशु पर्नुहुन्थ्यो।

 

जन्मिएको पाँचौ दिन मैले आमालाई सोधेँ ” आमा मलाई यि साहुले बिगौती दुध पनि राम्ररी चुस्न दिँदैनन्, किन आमा , के गर्छन् तेत्रो एकबाल्टी दुध ?” आमाले भन्नुभयो “हेर छोरा तैले प्रसस्त दुध चुस्न गाउँमा जन्मनु पर्थो । अभागी रहेछस् शहरमा जन्मिस् त्यो पनि काठमाडौँको मुटु नयाँ बानेश्वरमा।” आमाले भन्दै जानु भो ” हेर यि साउले छरछिमेक, वरपर गाई ब्याएको थाह दिन बिगौती दुध बाँड्छन् अनि तँ जन्मदिनको सातौं दिनबाट दुध उनिहरुलाई नै बोच्न थाल्छन् प्रति लिटर कसिलो दाममा ।  अझ मनग्गे पानी मिसाएर बेच्छन् यि साउ तैले देख्ने एकबाल्टी दुधलाई २ बाल्टी बनाएर ।” म आमाको कुरा सुनेर तिन छक्क परेँ। अनि थाह भो मैले आमाको दुध किन खान पाईन भनेर।

 

हामीलाई पाल्ने साउले मेरी आमाको दुध दुनुभन्दा पहिले मलाई लगभग १० सेकेण्ड आमाको दुध चुसाउँथे केवल पगार्न मात्र। अनि दुन थिलिहाल्थे । आक्कल झुक्कल साउले , दुध नै पग्रिएन भनेर दुँदा-दुँदै पनि चुसाउँथे । त्यो बेलामा मात्र आमाको दुध अरु दिनभन्दा अलि बढि चुस्न पाईन्थ्यो।

 

यसरी दुध नै प्रसस्त खान त के खान‌ै नपाई म ३ महिनाको भएँ । हामी आमा-छोरा राख्नका लागि साउले टिनले बारेर उनको घरनजिकै भाडामा लिएको जग्गामा गोठ बनाएका थिए। यति फोहोर थियो कि गोठ, भनि साद्दे छैन । मेरी आमा प्रायः सधैँ आफ्नै गहुँत र गोबरमा चुर्लुम्म डुब्नुभएको हुन्थ्यो। आमाका गोडा, पेट, फिलाहरुमा गोबर कटकटिएर चम्ब्रा  भएका थिए। मलाई चै आमा भन्दा अलि पर ओभानोमै बाध्ने भएर होला सायद मैले आफ्नै पिसाब र गोबरमा कहिल्यै बस्नु परेन। मलाई आमाबाट केहि टाढा बाँधिनु पर्दा कस्तो नरमाइलो लाग्थ्यो। आमा मलाई यति माया गर्नुहुन्थ्यो कि त्यही मायाले होला मलाई चाट्न लम्किनु हुन्थ्यो तर भेट्न भने सक्नु हुन्थेन। एक दिन त लम्किँदा लम्किँदै आमाले दाम्लो चुट्याउनु भयो र मेरो नजिकै आएर आँखाभरि आँशु लिएर मलाई चट्न थाल्नु भयो। दोश्रो पल्ट ३ महिना पछि प्रसस्त आमाको दुध चुस्न पाएको दिन त्यहि दिन थियो । त्यो दिन आमा दाम्लोबाट मुक्त भएर पनि बाहिर चर्न जानु भएन। दिनभर मलाई चाटेर बसिरहनु भयो । म पनि आमाको जिउमा टाउको राखेर दिनभर सुतिरहेँ त्यो दिन। साँझ साउ आएर रिसाउँदै आमालाई किलो ठोक्ने मुझ्ग्रोले चुट्नु चुटे। आमा ठुलठुलो स्वरमा दर्दनाक ढंगले रुनु भयो। साहुले मेरी आमालाई कुटेको देखेर म रातभरि निदाउँन सकिन। मन भित्र कहाँ हो कहाँ अनौठो ढंगले दुखिरह्यो।

 

त्यो घटनाकै भोलिपल्ट साहु बिहानको झिसमिसेमै ४:३० बजे तिर गोठमा आए र बत्ति बाले । बत्तिको उज्यालोमा हेरेँ आमा ननिदाई आँखाभरि कचेरा बोकेर बसिराख्नु भएको थियो।आमाका आँखा पनि रातभरि रोएर होला,  सुन्निएका थिए। साहुले मलाई बाँधेको मेरो दाम्लो फुकाए र घिस्याउँदै मलाई गोठबाट निकाले । मलाई लगेको देखेर आमा गोठभित्र दाम्लो चुट्याउने गरि अघिल्लो दिनको कुटाईको पिडा बिर्सिएर उफ्रि उफ्रि कराईरहनु भएको थियो । त्यसको केहि पर्वाह नगरी साउले मलाई घिस्याउँदै लगे । उज्यालो नहुन्जेल घिस्याएर मलाई गौशाला पुर्याएर छोडिदिए । गौशालाबाट आमा भएको गोठसम्म पुग्ने मेरो कुनै तागत थिएन । न त बाटो नै थाह थियो फर्किने।

 

महिनौ महिना म आमालाई सम्झिएर कति रोएँ रोएँ। आफ्नो प्यारो सन्तान गुमाउँनु पर्दा झन् मेरी आमालाई कस्तो भयो होला। तर गौशालामा मलाई जसरी नै ल्याएर छाडिएका अरु बाछाहरुले हरेक दिन उनिहरुको ब्यथा सुनाउँदै सम्झाए, बुझाए र फकाए।  मेरो भन्दा  दर्दनाक कथा बोकेर बाँचेका बाछाहरुको कथा सुनेर मलाई मेरो कथा सामान्य लाग्यो । बिस्तारै मन बुझाउँन थालेँ । सडकमै दिन रात बिताउने बानी पर्न थाल्यो । कागज र प्लास्टिक खान पनि बाछाहरुले नै सिकाए । सडकको धुलोले झयाप्पै छोपेका घाँस जबर्जस्ती निल्न पनि सिकेँ । बाटो क्रस गर्न, पेटिमा सुत्न, सडकमा जमेको पानी पिएर तिर्खा मेटाउन र अन्य धेरै कुरा अन्य बाछाहरुले नै सिकाए ।

 

आज ठ्याक्कै म ११ बर्षको भएको छु । आज पनि यहिँ गौशालामै बस्छु । बाटो क्रस गर्दा बसले कुल्चिएर एउटा खुट्टा भाँचिएको छ मेरो । मेरी आमा त स्वर्गबास भैसक्नुभयो होला । म जस्ता बाछाहरु लगभग ३०/४० को हाराहारीमा छौँ होला यो गौशालामा । देशमा लोकतन्त्र आएको लामै समय भएको छ। लोकतन्त्रमा पशुअघिकार पनि त हुन्छ होला। खै मानिसहरुले नै अधिकार पाएका छैनन् । हामी पशुहरुले के आशा गर्नु र! मानिसहरु छोरा जन्मियो भनेर खुसि हुँदा रहेछन् यो शहरमा पनि । तर गाईबस्तुको हकमा त बाछो भन्दा बाछी भएरै जन्मिएको राम्रो रहेछ ।

 

-भुषण मणि  गौतम

सूर्योदय नगरपालिका – ८ , कजेनी इलाम