बारा-विश्वप्रसिद्ध गढिमाई मेलामा कनेक्ट किसानद्वारा आयाेजीत कृषि प्रदर्शनीकाे मधेस प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंहले अवलोकन गर्नुभएकाे छ । प्रदर्शनीकाे अवलाेकन गर्दै मुख्यमन्त्री सिंहले कृषि विशेष प्रदर्शनी आयाेजना गरेकाेमा कनेक्ट किसानलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । मधेस सरकारले पनि छिट्टै प्रदेश स्तरीय कृषि प्रदर्शनी आयाेजना गर्न लागेकाे जानकारी गराउँदै मुख्यमन्त्री सिंहले सँगै काम गर्न अनुराेध गर्नुभएकाे कनेक्ट किसानकाे अध्यक्ष सञ्जीता लामिछानेले जानकारी दिनुभयाे । अन्नकाे भण्डार मानिने मधेसमा कृषिको आधुनिकिकरण र कृषककाे स्तराेन्नतीले मात्रै मधेस समृद्ध हुने उहाँकाे भनाई थियाे । मुख्यमन्त्री सिंहकाे साथमा उद्योग बाणिज्य तथा पर्यटन मन्त्री सकिल अलि मिया र पर्यटन सचिव सुशील साहकाे सहभागीता रहेकाे थियाे ।
ताईवानका पर्यटकले पनि गरे प्रदर्शनी अवलोकन
धार्मिक भ्रमणमा आएकाे ताईवानकाे पर्यटकहरूकाे समुहले पनि कृषि प्रदर्शनीकाे अवलोकन गरेकाे छ । करिब २५ जनाकाे समुहमा रहेकाे ताईवानी पर्यटकहरूले प्रदर्शनीकाे अवलाेकन गरेकाे जितपुर सिमरा उद्योग वाणिज्य संघका अध्यक्ष माेहन शर्माले जानकारी दिनुभयो । पर्यटकहरूले नेपाली रैथाने कृषि उत्पादन सिन्धुलीको जुनार, रौतहटको ड्रागनफ्रुट, नुवाकोटको कफी, वीरगन्जको च्याउ, दही तथा हस्त निर्मित सामग्री, चितवनको बेसार, सप्तरीको अचार, प्युठानको अर्गानिक महकाे विशेषरूपमा अवलाेकन गरेका थिए । उनिहरूले प्रदर्शनीमा राखिएको सात प्रदेशको सात फरक परिकारकाे पनि स्वाद लिएका अध्यक्ष लामिछानेले बताउनुभयो ।
गढिमाई मेलाभर्न आउने करोडौँ सहभागीलाई लक्षित गरी पालिकाहरुहरुको स्थानिय उत्पादन, रैथाने बाली र कृषि सम्बन्धित वस्तु तथा सेवाको प्रवद्र्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हाे । कृषिमा आधुनिक प्रविधि अन्तर्गत थोपासिचाई प्रविधि, नर्सरी तथा माछाको प्रदर्शनी, कृषि उपकरणमा विभिन्न कम्पनीका ट्राक्टर, रोटावेटर, हार्वेष्ट कम्पाईन तथा अन्यआवश्यक उपकरणहरुपनि प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीकाे भाेली समापन गरिने कनेक्ट किसानकाे अध्यक्ष लामिछानेले जानकारी दिनुभयाे ।