नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नारायणप्रकाश साउदले संसदमार्फत विधेयकका रुपमा आउनुपर्ने कानूनहरु अध्यादेशमार्फत अघि बढाउँदा सरकारमाथि प्रश्न उठेको बताउनुभएको छ ।
आईतवार बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै नेता साउदले यस्तो बताउनुभएको हो । उहाँले अध्यायदेशबाट आएको कानून संसदबाट पारित नभएसम्म दिगो हुन नसक्ने बताउनु भयो । अध्यादेशबाट ल्याइएका कानूनहरु अस्थायी प्रकृतिको हुने भएकाले लामो समयसम्म रहन नसक्ने उहाँको भनाइ छ । उहाँले सरकारले अध्यादेशमार्फत ल्याएको कानूनमा विवादस्पद कुरा नभएको कारण प्रतिपक्षले स्वीकारेको बताउनु भयो ।
नेता साउदले भन्नुभयो, ‘संसद नबसेको बेलामा हामीले अध्यादेशमार्फत पनि कानून बनाउन सक्छौं । अध्यादेशबाट कानून बनाएपनि त्यसलाई जबसम्म संसदले पारित गर्दैन तबसम्म त्यो कानून दिगो हुन सक्दैन । त्यो कानून ऐनको रुपमा लामो समयसम्म रहन सक्दैन । अध्यादेश भन्ने बित्तिकै अस्थायी प्रकृतिका हुन्छन् । त्यसकारण संसदबाट विधेयकको रुपमा आउनुपर्ने ठाउँँमा अध्यादेशका रुपमा आउँदा प्रश्न उठाउने ठाउँ त छ । तर त्यसमा भएका कुराहरु त्यति विवादस्पद छैनन् । त्यसैले प्रतिपक्षदेखि लिएर अरुले पनि त्यसलाई स्विकार गरेको अवस्था देखिन्छ ।’
उहाँले सरकारलाई काँग्रेसले साथ दिइरहेको बताउँदै दुई दलबीच भएका न्युनतम साझा सहमति कार्यान्वयन गर्न काँग्रेस प्रतिवद्ध रहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल