हाडीगाउँमा ट्राफिक व्यवस्थापनमा महानगर प्रहरीको उत्कृष्ट कार्य

.

 

काठमाडौं:-काठमाडौं महानगरपालिकाको वडा नम्बर ५, हाडीगाउँ क्षेत्रमा सवारी चापलाई व्यवस्थित बनाउन काठमाडौं महानगरले नयाँ ट्राफिक व्यवस्थापन लागू गरेको छ। यो व्यवस्थापन अन्तर्गत हाडीगाउँको मुख्य सडकमा एकतर्फी (one-way) नियम लागू गरिएको छ, जसले ट्राफिक जामलाई कम गर्ने विश्वास गरिएको छ।

महानगर प्रहरीको सक्रिय सहभागिताका कारण यो प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको छ। विशेष गरी महानगर प्रहरी पारस थापा र सुरज श्रेष्ठ नियमित रूपमा सडकमा खटिएर चालकहरूलाई नियमबारे जानकारी गराइरहेका छन्। उनीहरू oneway को बोर्ड भएको स्थानमै बसेर चालकहरूलाई मार्गनिर्देशन दिइरहेका छन्। “सवारी चालकले नियम पालना गर्न सकून् भनेर हामी स्वयं सडकमा उभिएर सही दिशा देखाउँदै छौं,” प्रहरी द्वयले बताए।

स्थानीय बासिन्दाहरूले पनि महानगर प्रहरीको यो कार्यको प्रशंसा गरेका छन्। “यसअघि यहाँ ट्राफिक जामले निकै सास्ती दिन्थ्यो। कतिपय सवारी चालकहरूले नियम नमान्दा दुर्घटना हुने सम्भावना पनि उच्च थियो। अहिले भने महानगर प्रहरीले सक्रिय भूमिका खेलेपछि ट्राफिक व्यवस्थापन सहज भएको छ,” स्थानीय सुरज थापाले बताए।

यस प्रकारको ट्राफिक व्यवस्थापनपछि बिहान र बेलुकीको व्यस्त समयमा पनि हाडीगाउँ क्षेत्रमा ट्राफिक जाममा कमी आएको छ। स्कुल तथा कार्यालय जानेहरूका लागि यात्रा सहज भएको छ।

यसरी, स्थानिय वडा र काठमाडौं महानगर प्रहरीको सक्रियताले हाडीगाउँ क्षेत्रमा ट्राफिक व्यवस्थापनमा सुधार ल्याएको छ। स्थानीय बासिन्दा, सवारी चालक तथा यात्रुहरूले यस पहललाई स्वागत गरेका छन्। यदि सबैले ट्राफिक नियम पालना गरेमा र ट्राफिक प्रहरीले पनि यस्ता प्रकारका सेवा प्रवाह गरेमा सहरको सडक अझ व्यवस्थित र सुरक्षित बन्नेमा कुनै शंका छैन।