उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कप फुटबलको दोस्रो संस्करण आगामी वैशाख २० गतेदेखि हुने भएको छ ।
गोदावारी नगरपालिकाको आयोजनामा आगामी वैशाख २० गतेदेखि जेठ ३ गतेसम्म ललितपुरको गोदावरी नगरपालिकामा उक्त प्रतियोगिता हुन लागेको हो । आयोजकले आईतवार पत्रकार सम्मेलनमार्पmत प्रतियोगिताबारे जानकारी दिएको थियो । गोदावरी नगरपालिकाका प्रवक्ता नवराज सिलवालले यस प्रतियोगितामा उपत्यकाका कुल २१ स्थानीय निकायले प्रतिष्पर्धा गर्ने जानकारी दिए । प्रतियोगिताका खेलहरू गोदावरीको ताहाखेलमा हुनेछन् । अहिलेसम्म १० टोलीले मात्र प्रतियोगितामा सहभागिताका लागि नाम दर्ता गराएको र अन्तिम दिन सोमवार रहेकाले थप टोलीको सहभागिता रहने नगरपालिकाका खेलकुद प्रमुख नीरज बज्राचार्यले जानकारी दिए ।
यस प्रतियोगितामा राष्ट्रिय टोलीका सदस्यले पनि कुनै टोलीबाट खेल्न पाउनेछन् । तर त्यसका लागि उनीहरू नगरपालिकाकै स्थानीय बासिन्दा हुनुपर्ने आयोजकको भनाइ छ । प्रतियोगिताका विजेताले पाँच लाख, उपविजेताले तीन लाख र ट्रफी पाउनेछन् । फेयर प्ले हुने टोलीले ५० हजार रुपैयाँ पाउनेछ । प्लेअर अफ दी म्याचले पाँच हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा विधागत उत्कृष्ट गोलकिपर, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता, प्रशिक्षक र इमर्जिङ प्लेअरले पनि पुरस्कार पाउने भएका छन् । उनीहरूले समान २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।
प्रतियोगिताक लागि एक करोड ९ लाख रुपैयाँ अनुमानित खर्च लाग्ने जनाएको छ । यसमध्ये गोदावरीले २५ लाख र बाँकी प्रायोजकबाट उठाउने आयोजकले उल्लेख गरेको छ । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले नगरभित्र बहुउद्देश्यीय हल निर्माण गर्ने योजना रहेको बताए । त्यसका लागि जग्गा पनि पाइसकेको गोदावरीले जनाएको छ । —न्युज एजेन्सी नेपाल
अन्तरपालिका गोदावरी मेयर कप फुटबल हुने